विधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने उद्देश्यसहित गठित कार्यदलको पहिलो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कांग्रेस विभाजन रोक्न शेखर कोइराला सक्रिय: नेपाली कांग्रेस भित्र ध्रुवीकरण व्यापक छ । काँग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगेपछि नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरबीचको विवाद थप गहिरिएको हो । पहिलेको संस्थापन खेमामा पार्टी नै विभाजन गरेर जानुपर्ने आवाज उठेको छ भने विशेष महाधिवेशन पक्षधर पार्टीभित्र कुनै संवाद गर्न नै चाहदैंन । यसले काँग्रेसका नेता कार्यकर्तामा चरम निराशा बढेको छ । स्रोतका अनुसार सभापति थापा आफ्नै नेताहरू मिलाउन नसकेर तनावमा छन् ।
पक्राउ पुर्जीपछि देउवाले लेखे: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जीवन खुला किताबजस्तै रहेको भन्दै विषयलाई अतिरञ्जित नगर्न अपिल गरेका छन् ।सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बुधबार सामाजिक सञ्जालमार्फत् उनले यस्तो अपिल गरेका हुन् ।सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको उनले बताएका छन् । 'नेपालको कानूनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु,' उनले लेखेका छन्, 'स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
बदलिएको मौसमः नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ । वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको छ ।
राष्ट्रपतिले शुक्रबार दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने: राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।राष्ट्रपति कार्यालयको तर्फबाट सचिव महादेव पन्थले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले यही चैत २७ गते शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने जानकारी दिएका हुन् । राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई दिउँसो ३ बजे सम्बोधन गर्ने तयारी भएको विज्ञप्तिमार्फत् जानकारी दिइएको छ ।
राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट: प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उहाँहरूसँग सामूहिक भेट र संवाद गरेका हुन् । सो भेटमा भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत/नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो।
मधेसमा आँप उत्पादन घट्दै: मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ । समयमा वर्षात् नभएको र हावाहुरीले पनि आँप उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयले जनाएको हो ।यस वर्ष मधेस प्रदेशमा आँपका रुखमा आँपको मजर अर्थात् फूल अत्यधिक लागेको थियो तर मधुवा रोगले समस्या उत्पन्न भएको हो । निर्देशनालयका अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो ।

