जनकपुरधाम- मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ । समयमा वर्षात् नभएको र हावाहुरीले पनि आँप उत्पादनमा ह्रास आउन सक्ने निर्देशनालयले जनाएको हो ।
यस वर्ष मधेस प्रदेशमा आँपका रुखमा आँपको मजर अर्थात् फूल अत्यधिक लागेको थियो तर मधुवा रोगले समस्या उत्पन्न भएको हो । निर्देशनालयका अनुसार प्रदेशका आठवटै जिल्लामा गत वर्षको तुलनामा यस वर्ष करिब ६० प्रतिशतभन्दा बढी उत्पादन हुने अनुमान गरिएको थियो । तर रोगले गर्दा सो अनुमान अनुसार उत्पादन नहुने अवस्था सिर्जना भएको निर्देशनालयका अधिकृत सन्दीप ठाकुरले बताए।
निर्देशनालयबाट प्राप्त विवरणअनुसार यस वर्ष मधेस प्रदेशका किसानले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका छन् । मौसम अनुकूल रहेमा प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन भई करिब ४० करोड रुपैयाँ बराबरको कारोबार हुने अनुमान छ ।
मधेस प्रदेशका जिल्लामध्ये धनुषा, महोत्तरी, सिरहा र सप्तरी आँप उत्पादनका दृष्टिले अग्रणी मानिन्छन् । व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै गएको यस प्रदेशले देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा ओगट्ने गरेको छ ।
गत आवमा मधेस प्रदेशका किसानले ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँपखेती गरेका थिए । त्यसबेला प्रदेशमा तीन लाख ९५ हजार ९६२ मेट्रिकटन आँप उत्पादन भएको थियो । मधेसमा विशेषगरी मालदह, बम्बै, कलकत्तिया, आम्रपाली र दशहरी नकुअवा, केरवा, विजु, सिपिया लगायतका आँप खेती गरिएको छ ।
नेपालमा विदेशी आँपको आयात पनि उल्लेख्य रहेको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय भिट्ठामोडका प्रमुख किशोरकुमार यादवका अनुसार गत आवको फागुनदेखि चालु आवको कात्तिकसम्म भारतबाट भिट्ठामोड नाका हुँदै ३५९ मेट्रिकटन आँप नेपाल भित्रिएको थियो । जसको मूल्य करिब दुई करोड १५ लाख रूपैयाँ बराबर रहेको छ । हाल देशभर करिब ५३ हजार हेक्टर क्षेत्रफलमा आँपखेती भइरहेको कृषि मन्त्रालयको तथ्याङ्क छ ।

