कात्तिक १५ गतेपछि मात्रै धान काट्नू
धादिङ - सम्भावित वर्षाका कारण धानबालीमा क्षति हुन सक्ने भन्दै कृषि विकास कार्यालयले किसानलाई मौसमको अवस्था हेरेर मात्रै धान काट्न तथा भित्र्याउन आग्रह गरेको छ ।
कार्यालयका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा हुने सम्भावना छ । पाकिसकेको धान आजै भित्र्याउन वा कात्तिक १५ गतेपछि मात्रै काट्न कार्यालयले सुझाव दिएको छ ।
तत्काल धान भित्र्याउन नसक्ने किसानलाई मौसममा सुधार आएपछि मात्रै काट्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ । धान नपाकेका खेतमा कुलो वा नाली काटेर पानी निकास गर्न तथा हावाहुरी र वर्षाले ढलेको धानका बाला पानीमा डुब्न नदिन मुठो पारेर ठड्याउन वा अग्लो ठाउँमा राख्न पनि कार्यालयले अनुरोध गरेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १०, २०८३ १०:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

