Harsamaya
कांग्रेस विभाजन रोक्न शेखर कोइराला सक्रिय 
नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला।

काठमाडौं - नेपाली कांग्रेस भित्र ध्रुवीकरण व्यापक छ । काँग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा पुगेपछि नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरबीचको विवाद थप गहिरिएको हो । पहिलेको संस्थापन खेमामा पार्टी नै विभाजन गरेर जानुपर्ने आवाज उठेको छ भने विशेष महाधिवेशन पक्षधर पार्टीभित्र कुनै संवाद गर्न नै चाहदैंन । यसले काँग्रेसका नेता कार्यकर्तामा चरम निराशा बढेको छ । 

स्रोतका अनुसार सभापति थापा आफ्नै नेताहरू मिलाउन नसकेर तनावमा छन् । पार्टीभित्र एकपछि एक गर्दै आएका समस्याहरूले थापा अलमलमा परेको स्रोत बताउँछ । दुई अतिवादी धुव्रहरूलाई एकै ठाउँमा राखेर पार्टी एकताको पहल काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले गरिरहेका छन् । विशेष महाधिवेशन अघि पनि बीचको धुव्रमा रहेर पार्टी एकताको पहल गर्दा उनले अनेक उपनाम पाएका थिए । पार्टी सत्तामा कहिल्यै नभएका शेखर फेरि दुवै समूह मिलाउन कसरत छन् । कोइराला आफू बरु केही नबन्ने तर पार्टी विभाजन हुन नहुने अडानमा छन् । 

मंगलबार शेखरनिकटका नेताहरूको करिब ४ घण्टा चलेको बैठकपछि दुवै पक्षसँग संवाद गरेर सहमति खोज्ने निर्णय गरिएको छ। १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशनबाट पक्षबीच १५औँ महाधिवेशनसम्म सहकार्यको वातावरण बनाउने उद्देश्यले पहल अघि बढाइएको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार कांग्रेसका कोइरालाले दुवै पक्षबीच बढ्दो दूरी घटाउन सक्रिय भूमिका लिएका हुन्। कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले दुवै पक्षसँग संवाद गर्न छुट्टाछुट्टै टोलीसमेत गठन गरेको छ । देउवा पक्षसँग छलफलका लागि डा. मिनेन्द्र रिजाल र गोविन्द पोखरेल र गगन थापा पक्षसँग संवादका लागि बद्री पाण्डे र जीवन परियारलाई जिम्मेवारी दिइएको स्रोतले बताएको छ ।

बैठकमा सहभागी नेताहरूका अनुसार १५औँ महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा अगाडि बढाउनुपर्ने साझा धारणा बनेको छ। बैठकमा शेखर कोइरालाले वर्तमान परिस्थितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासो बढेको उल्लेख गर्दै पार्टीभित्र एकता आवश्यक रहेको बताएका थिए। त्यस्तै शशांक कोइरालाले कांग्रेसको इतिहास, उद्देश्य र साख जोगाउन विभाजनतर्फ नलागी सहमतिमा जान सबैलाई आग्रह गरेका थिए।

उता विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले भने १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर अघि बढिसकेको छ।

प्रकाशित मिति: बुधबार, चैत २५, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update