Harsamaya
चैत २२: ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति देखी सभामुखमा अर्याल निर्वाचित सम्म
ग्राफिक्सः हर समय/harsamaya

रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम डा. नारायण दत्त कँडेललाई  महान्यायाधिवक्तामा नियुक्त गरेका छन् ।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्रीको सिफारिसमा कँडेललाई उक्त पदमा नियुक्त गरिएको हो । महान्यायाधिवक्ता नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

अदालतको अनुमतिः पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश जगत पौडेलको इजलासले आइतबार ओली र लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

सभामुखमा डोलप्रसाद अर्याल निर्वाचित: प्रतिनिधि सभाको सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद डोलप्रसाद अर्याल सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरिएको छ । आइतबार प्रतिनिधिसभाको बैठकका जेष्ठ नागरिक अर्जुन नरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन । उनी शुक्रबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीमा रास्वपाका सभापति रवि लामिछानेले प्रस्तावक गरेका थिए ।

शनिबार र आइतबार सार्वजनिक बिदा: आइतबार बसेको मन्त्रिपरषद्को बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

सांसद शर्मालाई रिहा गर्न दियो आदेश: काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसूरमा पक्राउ परेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्मालाई हिरासतमुक्त गर्न आदेश दिएको छ। आइतबार जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो। म्याद थपका लागि दोस्रो पटक अदालतमा उपस्थित गराइएकी शर्माको पक्षबाट वरिष्ठ अधिवक्ता श्रीकान्त बराल तथा अधिवक्ताहरू राधिका खतिवडा र मञ्जु ज्ञवालीले बहस गरेका थिए। बहसका क्रममा उनीहरूले शर्माले पीडितलाई यातना नदिएको र बरु संरक्षकको भूमिका निर्वाह गर्दै आएको तर्क प्रस्तुत गरेका थिए ।

‘अनलाइन’सट्टेबाजी ‘एप’र ‘वेबसाइट’बन्द: ‘अनलाइन’सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’र ‘वेबसाइट’(युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । 

चार दिनमा २२६ जना पक्राउ: नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले यही चैत १८, १९, २० र २१ गतेको अभियान अन्तर्गत दुई सय २६ जनालाई पक्राउ गरी कानुनी कारबाही प्रक्रिया थालिएको जानकारी दिए । 

सुनचाँदीको मूल्य स्थिर: नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आइतबार सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार रुपैयाँ कायम गरिएको छ।अघिल्लो कारोबार दिनमा पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला ४ हजार ८३० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन पनि चाँदी यही मूल्यमा किनबेच भएको थियो।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  २१:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update