Harsamaya
एमालेले अध्यक्ष ओलीको रिहाइका लागि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने 
अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं - अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै नेकपा एमालेले आज ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने भएको छ । 

एमालेका सचिव महेश बस्नेतका अनुसार आज मध्याह्न १२ बजे प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारीलाई विरोधपत्र बुझाउने कार्यक्रम तय भएको हो ।

गौरीबहादुर कार्की आयोगले दोषी देखाएको भन्दै अध्यक्ष ओलीलाई हिजो निवासबाटै प्रहरीले पक्राउ गरेपछि एमालेको सचिवालय बैठकले त्यसको विरोध गर्दै रिहाइका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो । 

एमाले प्रचार तथा प्रकाशन विभागका संयोजक मीन बहादुर शाहीका अनुसार काठमाडौंमा माइतीघर मण्डलमा भेला भएर नारा जुलुस सहित प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने तयारी छ । हिजो पार्टी सम्बद्ध जनसङ्गठनले माइती घरबाट बानेश्वरसम्म विरोध प्रदर्शन गरेका थिए । 

अध्यक्ष ओली पक्राउका विषयमा  बिहान १०:३० बजे कानुनविद्सँग अन्तरसंवाद गर्ने भएको छ । चौतारीले दिएको जानकारी अनुसार सङ्गठनको केन्द्रीय कार्यालय पुतली सडकमा कार्यक्रम गर्न लागिएको हो ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०८२  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update