सिन्धुपाल्चोक - नेपाली कांग्रेसका पूर्वमन्त्री निमा लामाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
लामाले आफ्नो उम्मेदवारीलाई पार्टीमा अनुभव र नयाँ पुस्ताको ऊर्जालाई जोड्ने अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले ‘पुस्तालाई जोडौँ, पार्टीलाई बलियो बनाऔँ’ भन्ने नारासहित कांग्रेसलाई थप बलियो, लोकतान्त्रिक, समावेशी र जनमुखी पार्टीका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
२०७४ सालको निर्वाचनका बेला सिन्धुपाल्चोकमा कांग्रेस कठिन अवस्थामा रहेको उल्लेख गर्दै लामाले त्यतिबेला पार्टीको संगठन र विचारलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो प्रदेशसभामा निर्वाचित भएर जनप्रतिनिधिका रूपमा भूमिका निर्वाह गरेको बताएका छन्।
प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलको सदस्य–सचिवका रूपमा जिम्मेवारी सम्हालेका लामाले पार्टीका नीति, विचार तथा जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठाउँदै आएको उल्लेख गरेका छन्।
कोरोना महामारीको कठिन समयमा बागमती प्रदेशको स्वास्थ्य मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ।
लामाले पार्टीको संगठन निर्माण र सुदृढीकरणमा आफूले निरन्तर योगदान गर्दै आएको बताउँदै १५औँ महाधिवेशनमार्फत कांग्रेसलाई थप सशक्त बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले कांग्रेसभित्र अग्रजको अनुभव र युवाको ऊर्जाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। लोकतन्त्र, समावेशिता, सेवा र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राख्दै सबै पुस्तालाई जोडेर पार्टीलाई अघि बढाउनुपर्ने उनको धारणा छ।
‘राजनीति पेशा होइन, जनताको सेवा र परिवर्तनको माध्यम हो’ भन्ने धारणा अघि सार्दै लामाले राजनीतिलाई जनताको सेवा र परिवर्तनसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन्।
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति सदस्यसमेत रहेका लामाको उम्मेदवारी घोषणाको सन्देशमा भनिएको छ, ‘अनुभवलाई सम्मान, युवालाई अवसर—सबै पुस्तालाई जोड्दै नेपाली कांग्रेस।’

