म्याग्दी - अन्नपूर्ण गाउँपालिका–३ दानामा एक महिनाअघि रुखबाट लडेर मृत्यु भएको भनिएका युवाको हत्या भएको खुलासा भएको छ ।
गत फागुन ७ गते दानाका २४ वर्षीय सौरव भनिने सुकमन विकको गैयाभाट जङ्गलमा घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको भनेर दाहसंस्कार गर्ने तयारी भएको थियो । घटनाको बारेमा जानकारी पाएपछि मृतकको घरमा पुगेको प्रहरी टोलीले शवलाई परीक्षणका लागि बेनी अस्पताल ल्याएको थियो ।
शव परीक्षण प्रतिवेदन र घटनाको सुक्ष्म अनुसन्धानका क्रममा एक महिनापछि दानाका २२ वर्षीय प्रकाश विकले सौरवको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए ।
‘शनिबार पक्राउ परेका प्रकाशले प्रारम्भिक बयानमा सौरवको हत्या गरेको स्वीकार गरेका छन्,’ उनले भने, ‘मदिरा सेवनपछि भएको विवादले हत्याको रूप लिएको प्रकाशले स्वीकारेका हुन् । पारिवारिक सम्बन्धका कारण हत्याको घटना लुकाउने प्रयास भएको बुझिएको छ ।’
ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धानका लागि प्रकाशलाई हिरासतमा राखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

