Harsamaya
चैत ८ : वायु प्रदूषण घटेको देखि गगन थापाको राजीनामा अस्वीकृत सम्म
ग्राफिक्सः हर समय/harsamaya

फेक रेस्क्यू प्रकरणमा संलग्नहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको नक्कली कागजात बनाएर बीमा रकम दाबी गरेको घटनामा संलग्नविरुद्धको आइतबार मुद्दा दर्ता भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत चैत १ गते जिल्ला सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले आइतबार ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध एक अर्बभन्दा बढी बिगो मागदाबी गरेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।.

वर्षासँगै ह्वात्तै घट्यो वायु प्रदूषण: शुक्रबारदेखि मुलुकका अधिकांश स्थानमा परेको वर्षासँगै वायु प्रदूषण उल्लेखनीय रूपमा घटेको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआई) को तथ्याङ्क विश्लेषण गर्दा, सात दिनअघि मात्र वायु प्रदूषण १७८ एक्युआई पुगेर काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहरको सूचीमा थियो । आज भने वायु प्रदूषण घटेर ६० एक्युआईमा झरेको छ । योसँगै काठमाडौँ विश्वका प्रदूषित सहरको सूचीमा ६७ औँ स्थानमा छ । एक्युआई मापदण्डअनुसार ० देखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्छ ।

गगन थापाको राजीनामा अस्वीकृत: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आइतबार सम्पन्न बैठकले सभापति गगनकुमार थापाले आफ्नो पदबाट दिएको राजीनामालाई सर्वसम्मत रूपमा अस्वीकृत गरेको छ।गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर त्यसको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले पार्टी विधानको धारा २६ (१) बमोजिम उपसभापति समक्ष राजीनामा पेश गरेका थिए । तर बैठकले उक्त राजीनामामाथि छलफल गर्दै वर्तमान परिस्थितिमा उनकै नेतृत्व आवश्यक रहेको ठहर गरी राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो। 

प्रम कार्कीले रविसँग भनिन्: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन् । सभापति लामिछानेले प्रधानमन्त्री कार्कीको नेतृत्वमा ऐतिहासिक निर्वाचन सम्पन्न भई देशले शान्तिपूर्णरुपमा निकास भएको भन्दै बधाई ज्ञापन गरे। 'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु‚' उनले भने ।

सुनचाँदीको मूल्य घट्यो: साताको पहिलो कारोबार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार छापावाला सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ४ हजार ५४० रुपैयाँमा कारोवार भैइरहेको छ । शुक्रबार चाँदी ४ हजार ८९५ रुपैयाँमा कारोवार भएको थियो ।

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ विजयी: प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले बागमती प्रदेशलाई पराजित गरेको छ ।काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा एपीएफले बागमती प्रदेशलाई ७१ रनले पराजित गरेको हो । दुई सय ७२ रनको लक्ष्य पछ्याएको बागमती प्रदेशको पारी ४५.१ ओभरमा सबै विकेट गुमाउँदै २०० रनमै समेटियो । बागमतीका लागि विवेक मगरले ३४ रन, उत्तम मगरले २६, सुबास खत्रीले २७ रन तथा रिजन ढकालले अविजित २० रन जोडे । बलिङतर्फ एपीएफका रोहित पौडेल र अभिषेक गौतमले तीन-तीन तथा युवराज खत्री, नन्दन यादव र कमलसिंह ऐरीले एक एक विकेट लिए ।

छुट्टाछुट्टै दुर्घटनामा ७ जनाको मृत्यु : मुलुकका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।रूपन्देही, कञ्चनपुर, पाल्पा र मोरङमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।दुर्घटनामा रूपन्देहीका एक, कञ्चनपुरका एक, पाल्पाका चार र मोरङका एक जनाको मृत्यु भएको हो ।मोरङको रङ्गेली नगरपालिका ७ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा घाइते भएका एक जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update