Harsamaya
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- फेक रेस्क्यू प्रकरणमा संलग्नहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । 

नेपाल घुम्न आएका विदेशी पर्यटकको उद्धारपछि उपचार गरेको नक्कली कागजात बनाएर बीमा रकम दाबी गरेको घटनामा संलग्नविरुद्धको आइतबार मुद्दा दर्ता भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गत चैत १ गते जिल्ला सरकारी वकिलमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन अध्ययन गरेर सरकारी वकिल कार्यालयले आइतबार ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो । सरकारी वकिल कार्यालयले उनीहरूविरुद्ध एक अर्बभन्दा बढी बिगो मागदाबी गरेको छ ।

सरकारी वकिल कार्यालयले पक्राउ परेका ९ जना र बाँकी २३ जना फरार प्रतिवादीविरुद्ध राष्ट्रहित प्रतिकूलको कसुर, आर्थिक लाभ, लिखतसम्बन्धी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्ध एक अर्ब ३० करोड ४२ हजार रुपैयाँको बिगो दाबी लिइएको छ । जसमध्ये ९४ करोड ८४ लाख ९७ हजार ३९१ नेपाली रुपैयाँ, २९ लाख ९८ हजार ८२३ अमेरिकी डलर र १४ हजार पाँच सय युरो रहेको छ ।​

सीआईबीले गरेको यो अनुसन्धान सन् २०२२ देखियता भएका फेक रेस्क्यू घटनाको हो । २०२२ जनवरीमा प्रतिअमेरिकी डलर ११८ रुपैयाँ थियो भने प्रतियूरो १३० रुपैयाँ थियो । यसलाई आधार मान्दा पक्राउ परेका प्रतिवादीविरुद्ध बिगो रकमको कुल परिमाण एक अर्ब ३० करोड ४२ लाख ४३ हजार ५०५ रुपैयाँ हुन आउँछ ।

सरकारी वकिल कार्यालयले एभरेष्ट एक्सपिरियन्स एन्ड असिस्टेन्ट प्रालिका अध्यक्ष मुक्तिनारायण पाण्डे, एभरेष्टकै शेयरधनी सुवास केसी, माउण्टेन रेस्क्यू सर्भिस प्रालिका मेनेजर विवेक पाण्डे, माउण्टेनकै अध्यक्ष एवं स्वाकोन इन्टरनेश्नल हस्पिटल प्रालिका शेयरधनी जयराम रिमाल, नेपाल कार्टर सर्भिस प्रालिका अध्यक्ष रवीन्द्र अधिकारी, श्रीद्धि इन्टरनेश्नल हस्पिटलका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना, रोयल होलिडेज एडभेन्चर प्रालिका सञ्चालक सन्दीप तिवारी र पानोरमा हिमालयन ट्रेकिङ एन्ड एक्सपेन्डिस प्रालिका शेयरधनी पासाङ शेर्पालाई प्रतिवादी बनाएको छ । त्यस्तै, अनुपस्थित रहेका नेपाल कार्टर सर्भिस प्रालिका मेनेजर विवेकराज थपलिया र अन्य फरार २३ जनालाई पनि कार्यालयले प्रतिवादी बनाएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  १९:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update