प्रतिनिधिसभा सदस्य निर्वाचनविरुद्ध गतिविधि गर्ने समूहका व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले विशेष निगरानी र विश्लेषणसमेत तीव्र बनाएको छ। प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधि निगरानी तथा विश्लेषण गर्न ‘निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा’ गठन गरेको छ। कार्य विभागको मातहत गठन गरिएको उक्त महाशाखाको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले सम्हालेका छन्।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कारण देखाउ आदेश: सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंसहित चारवटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
धनगढीमा दुई समूहबीचको झडप: कैलालीको धनगढी उपमहानगरपालिका–१३ मा दुई समूहबीच झडप भएको छ ।आज साँझ झडप भएपछि अवस्था नियन्त्रणमा लिनका लागि प्रहरीले हवाइ फायरिङ पनि गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार स्थितती नियन्त्रणमा लिन ६ राउन्ड हवाइ फायर भएको छ ।भडपमा दुई जना प्रहरी पनि घाइते भएका छन् ।
निर्वाचनको दिन हवाई उडान: नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले बिहीबार हुने निर्वाचनका दिन देशभरका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन हुने जानकारी दिएको छ। प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै निर्वाचनको दिन उडानको अवस्थाबारे स्पष्ट पारेको हो।प्राधिकरणका अनुसार आगामी बिहीबार निर्वाचनको दिन देशभरका सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन गरिनेछन्।यसैगरी, अन्तर्राष्ट्रिय उडानतर्फ मध्यपूर्वी गन्तव्यहरू बाहेकका अन्य सबै उडानहरू नियमित र सामान्य रूपमा सञ्चालन हुने प्राधिकरणले जनाएको छ।
सर्वोच्च अदालत खुल्ने: प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा गरेको सार्वजनिक बिदा तथा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा समेत सर्वोच्च अदालत खुला रहने भएको छ । विशेषगरी बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइलाई निरन्तरता दिन अदालतले तोकिएको अवधिमा निश्चित समयका लागि सेवा सञ्चालन गर्ने जनाएको छ ।
पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई: ऐतिहासिक धरहराभित्र भूमिगत तलामा रहेको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौँ महानगरपालिकालाई प्रदान गरिएको छ । पुनःनिर्माणपछि उक्त ठाउँमा ३४७ वटा कार र ७०० वटा मोटरसाइकल अट्ने क्षमता छ । केही दिनअघि गृह मन्त्रालय, सहरी विकास मन्त्रालयका प्रतिनिधि र महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलसहितको छलफलपछि धरहराको पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी महानगरलाई प्रदान गर्ने निर्णय गरेको हो ।
बढ्यो सुनको मूल्य: नेपाली बजारमा मंगलबार सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमबार सुनको मूल्य ३ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य घटेको छ ।
व्यवसायी घिमिरेको दाबी : पेट्रोलियम व्यवसायी शिवप्रसाद घिमिरेले तत्काल पेट्रोलियम पदार्थ अभावको स्थिति सिर्जना नहुने बताएका छन् ।मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा घिमिरेले यस्तो बताएका हुन् । ‘सयम सयममा नेपालमा विभिन्न कारणले पेट्रोलियम पदार्थको अभाव हुँदै आएको छ ।

