Harsamaya
निर्वाचन बिथोल्न खोज्ने ७६ जना पक्राउ
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

काठमाडौं - प्रतिनिधिसभा सदस्य निर्वाचनविरुद्ध गतिविधि गर्ने समूहका व्यक्तिहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ। निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै प्रहरीले विशेष निगरानी र विश्लेषणसमेत तीव्र बनाएको छ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधि निगरानी तथा विश्लेषण गर्न ‘निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा’ गठन गरेको छ। कार्य विभागको मातहत गठन गरिएको उक्त महाशाखाको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले सम्हालेका छन्।

प्रहरीका अनुसार दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानसहित ६ वटा समूह निर्वाचन बिथोल्न सक्रिय रहेका छन्। प्रसाईंसहित निर्वाचनविरोधी गतिविधिमा संलग्न ७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले जानकारी दिए।

प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेपछि हालसम्म १४२ जना पक्राउ परेका थिए। तर अदालतको आदेशपछि ६६ जना रिहा भइसकेका छन्। फागुन १८ मा मात्र ९ जनालाई पक्राउ गरिएको डीआईजी काफ्लेले बताए।

प्रहरीका अनुसार प्रसाईं समूह, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टी का संयोजक आहुति, मङ्गोल नेशनल अर्गनाइजेशन तथा पहिचानको आन्दोलनमा सक्रिय विभिन्न समूह निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको विश्लेषण गरिएको छ। बास्तोला भने पक्राउ परेर रिहा भइसकेका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ। सुरक्षाको दृष्टिले मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको प्रहरीले जनाएको छ। सुरक्षा चुनौती नभएको क्षेत्रका मतदान स्थललाई सामान्य श्रेणीमा राखिएको छ।

प्रकाशित मिति: मंगलबार, फागुन १९, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update