Harsamaya
फागुन १७ : मध्यपूर्वमा अलपत्र नेपालीलाई सुरक्षित राखिने देखि दुई दिनमा ८० हजारले काठमाडौं छाडेको सम्म
ग्राफिक्सः हर समय/harsamaya

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई धरौटीमा छाड्ने विशेष अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छ । पूर्वमन्त्री श्रेष्ठसमेत रहेको घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा ५ लाख धरौटीमा मुद्दाको पुर्पक्ष गर्ने आदेश बेरीतको रहेकाले त्यसलाई बदर गरी थुनामा राखी मुद्दाको पुर्पक्ष गरीपाउँ भनी आयोगले आइतबार सर्वोच्च अदालत निवेदन दिएको हो ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।  

मन्त्रिपरिषद् बैठकः सरकारले मध्यपूर्वका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उनीहरू रहेकै स्थानमा सुरक्षित राख्ने प्रबन्ध मिलाउने भएको छ ।आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो । नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था नरहेको परराष्ट्र मन्त्री बालानन्द शर्माले जानकारी दिए ।

दुई दिनमा ८० हजार यात्रुले छाडे काठमाडौं:  प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ मतदाता जानेक्रम जारी छ । निजी क्षेत्रको यातायातसेवा प्रदायक लोत्से बहुउद्देश्यीय संस्थाका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार शुक्रबार ३७४ र शनिबार ३१७ सार्वजनिक यात्रीबाहक बसबाट दुई दिनमा ८० हजार यात्रु बाहिरिएका हुन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले पछिल्लो दुई दिनमा उपत्यकाबाट ८० हजार यात्रु बाहिरिएका बताए ।

मध्यपूर्व हवाई क्षेत्र बन्द: अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणपछि मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र आंशिक वा पूर्ण रूपमा बन्द गरेका छन्, जसका कारण विश्वव्यापी हवाई यातायातमा सबैभन्दा ठूलो अवरोध देखा परेको छ । हजारौँ उडान ढिलाइ वा रद्द भएका छन्, हजारौँ यात्रुहरू अस्थायी रूपमा विमानस्थलमा रोकिएका छन् । इरान, इराक, इजरायल, सिरिया, कुवेत र संयुक्त अरब इमिरेट्सले शनिबार आक्रमणपछि आफ्नो आकाश नियन्त्रणमा राख्ने घोषणा गरेका थिए । 

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका विषयलाई लिएर नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् भन्ने कामना गरेका छन्। मध्यपूर्वमा भएका लाखौँ नेपाली आपत् र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छटपटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ ।  अध्यक्ष ओलीले लेखेका छन्, ‘मध्यपूर्वी देशहरू माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन ।

बढ्यो सुनको मूल्य:  नेपाली बजारमा आइतबार साताको कारोबारको पहिलो दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ हजार ६०० रुपैयाँले बढेर ३ लाख २० हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य ३ लाख १४ हजार ९ सय रुंपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।आज चाँदी मूल्य तोलामा ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित: नेपाली कांग्रेसमा नेपाली कांग्रेस (बिपी) पार्टी औपचारिक रूपमा समाहित भएको छ । आइतबार काठमाडौँमा आयोजना गरिएको चुनावी सभामा दुई पार्टीबीच सहमति गरी कांग्रेसमा  कांग्रेस (बिपी) समाहित भएको घोषणा गरिएको हो ।कांग्रेस सभापति गगनकुमार थापा र नेपाली कांग्रेस (बिपी) का सभापति सुशीलमान शेरचनले हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा कांग्रेस (बिपी)को सम्पूर्ण पार्टी संरचना, सदस्यता तथा सङ्गठनिक निकाय मूलपार्टी नेपाली कांग्रेसमा एकीकृत हुने घोषणा गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update