Harsamaya
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ।

काठमाडौं -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका विषयलाई लिएर नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नहोस् भन्ने कामना गरेका छन्। मध्यपूर्वमा भएका लाखौँ नेपाली आपत् र कोलाहलमा भएकाले उनीहरूका परिवार पलपल छटपटाएर बस्नु परेको अध्यक्ष ओलीको भनाइ छ । 

अध्यक्ष ओलीले लेखेका छन्, ‘मध्यपूर्वी देशहरू माथीको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन । ती देशमा लाखौँ नेपाली आपत् र कोलाहलमा छन् । तिनका परिवारले यहाँ पलपल छटपटाएर बस्नु परेको छ ।’

अवसरका  लागि खुला विश्वमा आज संसारका नागरिक संसारै भरी आउनु जानु स्वाभाविक भएको अध्यक्ष ओलीको भनाइ छ । ‘अस्वाभाविक र खतरनाक कुरा त युद्ध र भूराजनीतिक चपेटा हो,’ अध्यक्ष ओलीले लेखेका छन्, ‘ती देशहरू पनि पक्कै युद्ध चाहँदैन थिए । तर शक्तिको स्वार्थ घुसेपछि विवश हुनुपर्ने ।’

अध्यक्ष ओलीले नेपालमा अहिलेसम्म सौभाग्यवश मिसाइलको धुँवा भोग्नु नपरेको उल्लेख गरेका छन् । ओलीले सबैलाई सजगता र धैर्यता लिन आह्वान गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  ०७:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update