Harsamaya
मन्त्रिपरिषद् बैठकः मध्यपूर्वमा अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षित राखिने
फाइल तस्वीरः हर समय/harsamaya

काठमाडौं- सरकारले मध्यपूर्वका विभिन्न देशमा अलपत्र परेका नेपालीलाई उनीहरू रहेकै स्थानमा सुरक्षित राख्ने प्रबन्ध मिलाउने भएको छ ।

आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र रहेका नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने प्रबन्ध मिलाउने निर्णय गरेको हो ।

नेपाल फर्किन चाहनेहरूका लागि पनि विमानस्थल बन्द रहेकाले उद्धार गर्न सकिने अवस्था नरहेको परराष्ट्र मन्त्री बालानन्द शर्माले जानकारी दिए । अहिले मध्यपूर्वी क्षेत्रका कतार, कुवेत, दुबई, शारजाह, आबुधाबी, साउदी अरबको दमाम र रियादका विमानस्थल बन्द छन् ।

‘अहिलेलाई सबै विमानस्थल बन्द छन् । त्यसैले कसैलाई फर्काउन र अघि ल्याउन सकिँदैन । अहिले जहाँ छ त्यहीँ सुरक्षा दिएर राख्ने छलफल भएको छ’, मन्त्री शर्माले भने । 

मध्यपूर्वको तनावले नेपालमा परेको प्रभाव र आफ्नो देशले कसरी प्रतिक्रिया दिने भन्नेबारे पनि मन्त्रपरिषद् बैठकमा छलफल भएको मन्त्री शर्माले जानकारी दिए ।

उनले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मध्यपूर्वी क्षेत्र जानका लागि अलपत्र परेका यात्रुहरूको समस्या समाधान भइसकेको मन्त्री शर्माले बताए । यसका लागि श्रम मन्त्रालय, पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयले सहकार्य गरी समाधान गरेको उनले बताए । 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १९:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update