काबुल - अफगानिस्तानको राजधानी काबुलमा आइतबार पाकिस्तान र अफगान सुरक्षा बलबीच हवाई झडप भएपछि लगातार विस्फोट र गोलीबारी भएको छ। स्थानीय पत्रकारहरूले ती आवाजहरू प्रत्यक्ष सुनेका बताएका छन्। पछिल्ला सीमा झडपहरूले अफगानिस्तान र पाकिस्तान बीचको तनाव थप तीव्र बनाएको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिद ले काबुलमा पाकिस्तानी विमानलाई लक्षित गर्दै एन्टी–एयरक्राफ्ट फायर गरिएको पुष्टि गर्नुभएको छ। पाकिस्तानले शुक्रबार अफगानिस्तानका प्रमुख सहरहरूमा हवाई आक्रमण गरेको स्वीकार गरे पनि सर्वसाधारणको मृत्युबारे लगाइएको आरोपबारे स्पष्ट प्रतिक्रिया दिएको छैन। दक्षिणी सहर कान्दाहारमा भएका दुई हवाई आक्रमणमा कम्तीमा तीन सर्वसाधारणको मृत्यु भएको स्थानीय स्रोतहरूले बताएका छन्।
अफगान उपप्रवक्ता हमदुल्ला फित्रतका अनुसार बिहीबारदेखि सीमा क्षेत्रमा भएको गोलीबारीमा कम्तीमा ३० जना सर्वसाधारणको ज्यान गएको छ। यद्यपि दुवै पक्षले गरेको हताहतको दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।
अफगान सुरक्षा बलले पाकिस्तानी लडाकु जेट खसालिएको र पाइलट पक्राउ गरिएको भन्ने दाबी असत्य भएको जनाएको छ। तर सीमा नजिकका बासिन्दाहरूले गोलीबारी जारी रहेको र केही परिवार घर छोडेर सुरक्षित स्थानतर्फ सरेको बताएका छन्।
यसबीच द्वन्द्व रोक्न कूटनीतिक प्रयास जारी रहेपनि तत्काल युद्धविराम सुनिश्चित हुन सकेको छैन। साउदी अरेबिया र कतारले मध्यस्थता गर्ने प्रयास गरिरहेका छन् भने चीनले पनि दुवै देशलाई संयमता अपनाउन आग्रह गरेको छ । संयुक्त राज्य अमेरिका ले पाकिस्तानलाई आत्मरक्षाको अधिकार रहेको बताएको छ।
पाकिस्तानले अफगानिस्तानलाई आफ्नो भूमिबाट सक्रिय समूहहरूमाथि कारबाही गर्न असफल भएको आरोप लगाएको छ, जसलाई तालिबानले अस्वीकार गरेको छ। तालिबानसँग सम्बन्धित मानिने समूह तेहरीक–ए–तालिबान पाकिस्तानले विगतमा धेरै आक्रमणको जिम्मेवारी लिएको छ।
पाकिस्तानी अधिकारीहरूले अफगानिस्तानमा ३७ स्थानमा हवाई आक्रमण भएको बताएका छन्। अफगान पक्षले भने ८० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको र २७ सैन्य चौकी कब्जा गरिएको दाबी गरेको छ।
पाकिस्तानले ‘खुला युद्ध’ घोषणा गरेको दाबी गरिँदै आएको बेला अफगान सरकारले भने वार्तामार्फत समस्या समाधान गर्न आह्वान गरेको छ। पछिल्ला हिंसात्मक घटनालाई गत वर्ष अक्टोबरपछि सबैभन्दा गम्भीर मानिएको छ, जसले सीमा क्षेत्रका सर्वसाधारणलाई ठूलो जोखिममा पारेको छ।

