सिङ्गापुर - घट्दो विवाह र न्यून जन्मदरको चुनौतीसँग जुधिरहेको सिङ्गापुरले सरकारी कर्मचारीका लागि ‘डेटिङ प्लेटफर्म’ सञ्चालनमा ल्याएको छ।
मङ्गलबार सार्वजनिक गरिएको ‘फस्र्ट डेट’ नामक उक्त पहल २१ देखि ३५ वर्ष उमेर समूहका सरकारी कर्मचारीलाई लक्षित गरिएको हो। प्लेटफर्मले डेटिङ एपमा लगातार व्यक्तिको प्रोफाइल हेर्दा उत्पन्न हुने मानसिक तथा शारीरिक थकान कम गर्दै सोचविचारसहितको सम्बन्ध निर्माणमा सहयोग गर्ने उद्देश्य राखेको जनाइएको छ।
सेवामा सहभागी हुने कर्मचारीले आफ्नो रुचि, बानी, धार्मिक प्राथमिकता र सम्बन्धका प्राथमिकतासहितका विवरण भर्न सक्नेछन्। प्लेटफर्मले प्रयोगकर्ताको गोपनीयता सुनिश्चित गर्ने दाबी गर्दै प्रोफाइल सम्बन्धित व्यक्तिसँग मात्रै देखिने र सम्पर्क विवरण सार्वजनिक गर्ने वा नगर्ने निर्णय प्रयोगकर्ताले नै गर्न सक्ने जनाएको छ।
प्रयोगकर्तालाई भेटघाटपछि अनुभव सुनाउन आग्रह गर्दै प्लेटफर्मले तारा दिएर मूल्याङ्कन गर्न सकिने तथा वैकल्पिक प्रतिक्रिया दिन सकिने व्यवस्था पनि गरेको छ।
करिब ६० लाखभन्दा बढी जनसङ्ख्या रहेको सिङ्गापुरमा पछिल्ला वर्ष विवाह गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ। आधिकारिक तथ्याङ्कअनुसार सन् २०२५ मा विवाह दर्ता लगातार तेस्रो वर्ष घटेको थियो। देशमा जन्मदरसमेत निकै न्यून रहेको छ।
घट्दो जन्मदर र वृद्ध हुँदै गएको जनसङ्ख्यालाई सम्बोधन गर्न सरकारले परिवार र सन्तानको सङ्ख्या बढाउन विभिन्न कार्यक्रम तथा आर्थिक प्रोत्साहन दिँदै आएको छ। अगस्टमा प्रधानमन्त्री लरेन्स वङले ठूलो परिवारलाई प्रोत्साहन गर्ने नयाँ प्याकेज घोषणा गरेका थिए।
सिङ्गापुर यसै वर्ष औपचारिक रूपमा ‘सुपर–एज्ड’ समाजमा प्रवेश गरेको छ। त्यहाँ कुल जनसङ्ख्याको कम्तीमा २१ प्रतिशत ६५ वर्ष वा सोभन्दा माथिको उमेर समूहमा रहेको जनाइएको छ।
जापानले पनि न्यून जन्मदरको समस्या समाधान गर्ने प्रयासस्वरूप सन् २०२४ मा कृत्रिम बुद्धिमत्तामा आधारित ‘डेटिङ एप’ सञ्चालनमा ल्याएको थियो। उक्त सेवाबाट २६५ जोडीको विवाह भएको जनाइएको छ।

