Harsamaya
इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
तस्वीर स्रोत : बीबीसी

बगदाद - एक दशकभन्दा लामो समयपछि अमेरिकाले इराकमा आफ्नो सैन्य अभियान अन्त्य गर्दैछ। इस्लामिक स्टेटविरुद्धको अभियानमा महत्वपूर्ण भूमिका खेलेको अमेरिकी नेतृत्वको गठबन्धन सेनाको इराकबाट अन्तिम फिर्ती बुधबार हुँदैछ।

सन् २०१४ मा इस्लामिक स्टेटले इराक र सिरियाको ठूलो भूभाग कब्जा गरेपछि त्यसविरुद्ध लड्न अमेरिकी नेतृत्वमा गठबन्धन सेना दुवै देशमा पुगेको थियो। इस्लामिक स्टेटले ठूलो संख्यामा मानिसको हत्या गर्नुका साथै विभिन्न हिंसात्मक गतिविधि सञ्चालन गरेको थियो।

इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा इस्लामिक स्टेट पराजित भए पनि समूहका बाँकी सदस्यविरुद्ध कारबाहीका लागि गठबन्धन सेना इराकमा रहँदै आएको थियो।

इराक र अमेरिकाबीच सन् २०२४ मा गठबन्धनको सैन्य अभियान अन्त्य गर्ने सहमति भएको थियो। त्यसपछि गठबन्धनका सैनिकले देशभर रहेका विभिन्न सैन्य आधार छाड्दै आफ्नो उपस्थिति उत्तरी कुर्दिस्तान क्षेत्रमा सीमित गरेका थिए। अब त्यहाँबाट पनि गठबन्धन सेनाको अन्तिम फिर्ती हुने भएको हो।

गठबन्धन सेना फिर्ता भएपछि इराक सरकारले इरानसमर्थित सशस्त्र समूहहरूले विदेशी सेनाको उपस्थितिलाई कारण देखाउँदै हतियार राख्दै आएको अवस्थाको अन्त्य हुने अपेक्षा गरेको छ। सरकारले राज्यको नियन्त्रणबाहिर रहेका हतियारको समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै आएको छ।

प्रधानमन्त्री अली अल–जैदीले सशस्त्र समूहहरूले आफ्ना हतियार राज्यलाई बुझाउनुपर्ने बताउँदै आउनुभएको छ। तर केही शक्तिशाली समूहले हतियार त्याग्न अस्वीकार गरेका छन्। ती समूहले विदेशी सेना फिर्तासँगै अमेरिकाको राजनीतिक तथा आर्थिक हस्तक्षेप पनि अन्त्य हुनुपर्ने माग गर्दै आएका छन्।

शक्तिशाली सशस्त्र समूह काताइब हिज्बुल्लाहले अमेरिकी नेतृत्वको गठबन्धन सेना फिर्तीलाई पूर्ण राष्ट्रिय सम्प्रभुतातर्फको सुरुवात भनेको छ। यद्यपि उसले सरकारलाई समेत कडा चेतावनी दिएको छ।

इस्लामिक स्टेटविरुद्धको युद्धका क्रममा अमेरिकी नेतृत्वको गठबन्धन र इरानसमर्थित सशस्त्र समूह दुवै एउटै शत्रुविरुद्ध लडेका थिए। इस्लामिक स्टेट पराजित भएपछि भने इराकमा विदेशी सेनाको उपस्थितिलाई लिएर उनीहरूबीच तनाव बढेको थियो।

इरानसमर्थित समूहहरूले अमेरिकी सेनालाई इराकबाट हटाउन माग गर्दै ड्रोन र क्षेप्यास्त्रबाट आक्रमणसमेत गरेका थिए। त्यसको जवाफमा अमेरिकी सेनाले विभिन्न स्थानमा प्रतिकारात्मक कारबाही गरेको थियो।

यसैबीच, कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलका बासिन्दा गठबन्धन सेना फिर्ता भएपछि ड्रोन आक्रमणबाट आफ्नो सुरक्षा कसरी हुने भन्ने विषयमा चिन्तित देखिएका छन्।

अमेरिकी नेतृत्वको गठबन्धनले यसै वर्ष सिरियाबाट पनि आफ्नो सेना फिर्ता गरिसकेको छ।

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  २१:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update