Harsamaya
जापानको बेरोजगारी दर बढेर २.५ प्रतिशत
सांकेतिक तस्वीर: हर समय/Har Samaya

एजेन्सी - जापानको बेरोजगारी दर अगस्टमा बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा २.४ प्रतिशत रहेको बेरोजगारी दर पाँच महिनापछि पहिलोपटक बढेको जापान सरकारद्वारा शुक्रबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका व्यक्तिको सङ्ख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर मौसमी रूपमा समायोजित छ करोड ८३ लाख ४० हजार पुगेको छ ।

कामबाट बाहिरिएका व्यक्तिमध्ये आठ लाख १० हजारले स्वेच्छाले रोजगारी छाडेका छन् । राम्रो काम गर्ने अवस्था खोज्दै रोजगारी छाड्नेको सङ्ख्या जुलाईको तुलनामा आठ प्रतिशतले बढेको हो । त्यसैगरी, रोजगारदाताबाट कामबाट हटाइएका व्यक्तिको सङ्ख्या चार लाख पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशत बढी हो ।

मन्त्रालयका अनुसार नयाँ रोजगारी खोज्ने व्यक्तिको सङ्ख्या पनि २.२ प्रतिशतले बढेर चार लाख ६० हजार पुगेको छ । यसैबीच, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको छुट्टै तथ्याङ्कअनुसार अगस्टमा रोजगारी उपलब्धता अनुपात १.१८ रहेको छ । यो अघिल्लो महिनाको तुलनामा अपरिवर्तित हो । यसको अर्थ प्रत्येक १०० रोजगारी खोज्ने व्यक्तिका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए ।

उद्योगगत रूपमा हेर्दा ११ मध्ये आठ क्षेत्रमा रोजगारीका अवसर घटेका छन् । आवास तथा रेस्टुरेन्ट सेवामा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेको छ भने थोक तथा खुद्रा बिक्री क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।

तर उत्पादन क्षेत्रमा रोजगारीका अवसर ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशतले बढेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update