वासिङ्टन - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको सातदिने युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। तेलको मूल्य बढेसँगै विश्वव्यापी मुद्रास्फीति र विभिन्न देशका सेयर बजारमा दबाब बढेको छ।
इरानले संयुक्त राष्ट्रसंघको महासभामा युद्धविराम प्रस्ताव गर्दै होर्मुज जलडमरूमध्य पुनः खोल्न रोक्का गरिएका सम्पत्ति फुकुवा, तेलमाथिका प्रतिबन्ध हटाउनुपर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने सर्त राखेको थियो।
तर ट्रम्पले प्रस्ताव अस्वीकार गर्दै अमेरिका–इरान वार्ता पुनः सुरु हुन सक्ने संकेत गरेका छन्।
अन्तर्राष्ट्रिय बजारमा उत्तर समुद्री कच्चा तेलको मूल्य १.८ प्रतिशत बढेर प्रतिब्यारेल १०६.१९ डलर तथा अमेरिकी पश्चिमी टेक्सास कच्चा तेलको मूल्य एक प्रतिशत बढेर ९३.३४ डलर पुगेको छ।
तेलको मूल्य वृद्धिको असर एसियाली सेयर बजारमा समेत देखिएको छ। दक्षिण कोरियाली बजार दुई प्रतिशतभन्दा बढी घट्दा जापान, चीन, फिलिपिन्स, थाइल्यान्ड र इन्डोनेसियाका बजारमा पनि गिरावट आएको छ। यद्यपि हङकङ, अस्ट्रेलिया, सिंगापुर र न्युजिल्यान्डका बजारमा भने वृद्धि देखिएको छ।
विश्लेषकहरूले मध्यपूर्वको तनावले तेलको मूल्यमा थप दबाब पार्न सक्ने बताएका छन्। तर अमेरिका र इरानबीच वार्ता पुनः सुरु हुने सम्भावनाले बजारमा केही आशा कायम रहेको जनाइएको छ।

