Harsamaya
इन्धन अभावले सुडानको उद्योग, कृषि र व्यापार क्षेत्र प्रभावित
इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना ।

काठमाडौं - इन्धनको निरन्तर अभावले अफ्रिकी मुलुक सुडानको कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ । इन्धन आपूर्ति अनियमित हुँदा उद्योग, कृषि तथा व्यापार क्षेत्रको उत्पादन र व्यावसायिक गतिविधि प्रभावित भएका छन् ।

सुडानको पोर्ट सुडानस्थित सवारीसाधन मर्मत केन्द्रमा इन्धन अभावका कारण उपकरण सञ्चालन, सवारीसाधन परीक्षण र पार्टपुर्जा ढुवानीमा समस्या देखिएको छ । उक्त मर्मत केन्द्रमा एक दर्जनभन्दा बढी कर्मचारीले सवारीसाधन तथा भारी उपकरण मर्मत गरेर जीविकोपार्जन गर्दै आएका छन् । तर इन्धनको अनिश्चित आपूर्तिले उनीहरूको नियमित काम प्रभावित भएको छ ।

स्थानीय सवारी मर्मत केन्द्रका प्रमुख यासेर बुखारीका अनुसार उपकरण परीक्षणदेखि इन्जिन तथा अन्य पार्टपुर्जाको सफाइ र मर्मतसम्भारसम्मका लागि इन्धन आवश्यक पर्छ । इन्धन नहुँदा मर्मतसम्बन्धी काम नियमित रूपमा गर्न कठिन भएको उनले बताए ।

इन्धन अभावले विद्युत् आपूर्तिमा समेत थप दबाब सिर्जना गरेको छ । विद्युतमा निर्भर उपकरण प्रयोग गर्ने उद्योगहरू अनियमित विद्युत् आपूर्तिका कारण उत्पादन रोक्न बाध्य भएका छन् । विद्युत् कटौती हुँदा कारखानाका अधिकांश काम ठप्प हुने र उत्पादन प्रक्रिया पछाडि धकेलिने गरेको स्थानीय कामदार मोहम्मद सुलेमानले बताए ।

उनका अनुसार इन्धन अभावका कारण उद्योगहरूले कालोबजारबाट महँगो मूल्यमा इन्धन खरिद गर्नुपर्ने अवस्था छ । महँगो इन्धन र अनियमित विद्युत् आपूर्तिले उत्पादन लागत बढाउनुका साथै उद्योग सञ्चालनमा कठिनाइ थपेको छ ।

इन्धन अभावको असर व्यापार क्षेत्रमा पनि परेको छ । सुडान इन्धनका लागि आयातमा निर्भर रहेकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा आन्तरिक बजारमा समेत लागत बढेको छ । इन्धनको मूल्य वृद्धिले वस्तु खरिद, ढुवानी र वितरण खर्च बढाएको छ । त्यसको प्रत्यक्ष असर उपभोक्ता मूल्यमा परेको छ ।

स्थानीय व्यवसायी अब्दल्लाह हसनका अनुसार पछिल्लो तीन महिनामा फलफूलको मूल्य झण्डै चार गुणाले बढेको छ । इन्धनको मूल्य वृद्धिले सामान ढुवानी महँगो बनाएको र बजारमा वस्तुको मूल्य बढ्दा उपभोक्ताको खरिद क्षमता कमजोर भएको उनले बताए । वस्तुको मूल्य निरन्तर बढ्दा व्यापार सञ्चालन गर्नसमेत कठिन हुँदै गएको हसनको भनाइ छ । यसले इन्धन अभावको असर उत्पादन र उद्योगमा मात्र सीमित नरही आपूर्ति प्रणाली, बजार मूल्य र सर्वसाधारणको दैनिक जीवनसम्म पुगेको देखाएको छ । सीसीटीभी प्लस

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update