अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशका सचिवसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । यातायात व्यवस्था कार्यालय, नेपालगन्ज बाँकेमा कार्यरत रहँदा अनियमितता गरेको आरोपमा तत्कालीन कार्यालय प्रमुख लोकबहादुर सुनारसहित उच्च पदस्थ कर्मचारी र बिचौलियाविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
हाल लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सचिवको जिम्मेवारीमा रहेका उनीमाथि आयोगले गलत लिखत तथा प्रतिवेदन तयार पार्ने, सरकारी कागजात सच्याउने, घुस–रिसवत लिने–दिने र परीक्षाको परिणाम फेरबदल गर्नेजस्ता गम्भीर आरोप लगाएको छ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा : गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा २०८२ फागुन २० देखि २२ गतेसम्म मुलुकभर सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
आचारसंहिता उल्लंघन गरेका उम्मेदवार र पार्टीलाई २५ हजार जरिवाना : निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसाल र श्रम संस्कृति पार्टीलाई कारबाही गरेको छ।
आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार आचारसंहिता उल्लंघन गरेको ठहर भएपछि तीनै पक्षलाई २५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय गरिएको हो।
एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा एमाले एक्लै चुनावी मैदानमा रहेको बताएका छन् । नेकपा एमालेलाई बहुमत सहित निर्णायक शक्तिको रूपमा स्थापित गर्नु राष्ट्रिय आवश्यकता भएको सबै नागरिकले समेत बुझिसकेको उनले बताए ।
चुनावी प्रचार तथा मतदाता भेटघाटका क्रममा बिहीबार झापाको कमल गाउँपालिकामा केन्द्रित भएका उनले सञ्चार माध्यमसँग कुराकानी गर्दै चुनाव पछि देश सम्हाल्न नेकपा एमाले तयार रहेको समेत बताए । उनले नेकपा एमालेले राष्ट्रिय स्वाभिमान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकास र समृद्धिका लागि निर्वाह गरेको भूमिकाका कारण एमाले नै अहिलेको आवश्यकता हो भनेर बुझ्नुलाई अन्यथा लिन नहुने पनि बताए ।
भयरहित वातावरणमा मतदान गर्न पाउनु नागरिकको अधिकार : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले प्रतिनिधिसभा निर्वाचनका विषयमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै उनले भयरहित र शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने अधिकार नागरिकको मौलिक अधिकार भएको उल्लेख गरे । नागरिक अधिकारको सम्मान गर्न सरकारको सम्पूर्ण संयन्त्र परिचालन गर्नु उसको कर्तव्य रहेको उनले बताए ।
रुसी हमलाबीच जेनेभामा अमेरिका र युक्रेनको शान्ति वार्ता :
रुसले युक्रेनमाथि नयाँ आक्रमणको लहर सुरु गरेकै दिन युद्ध अन्त्यका प्रयासस्वरूप जेनेभामा अमेरिका र युक्रेनबीच नयाँ चरणको वार्ता सुरु हुने भएको छ। युद्धभूमिमा हिंसा नरोकिएको अवस्थामा कूटनीतिक पहल अघि बढाउन यी बैठकहरू आयोजना गरिएको हो।
यस चरणको वार्तामा युक्रेनका प्रमुख वार्ताकार रुस्तम उमरोभ सहभागी हुनेछन् भने अमेरिकी पक्षबाट राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत स्टिभ विटकफ र जारेड कुसनर सहभागी हुने जनाइएको छ। मार्चको सुरुमा रुससमेत सहभागी हुने त्रिपक्षीय बैठकको अपेक्षा गरिएको छ।

