Harsamaya
श्रीमती आफ्नै सुत्ने कोठामा मृत फेला, श्रीमान फरार
प्रतिकात्मक तस्विर: हर समय/Har Samaya

रौतहट - रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र बिभत्स अवस्थामा मृत फेला परेकी छिन् । फतुवा विजयपुर नगरपालिका वडा नं. ०६ पेटभर्वा टोल बस्ने २८ वर्षीया आरती देवी यादव आइतबार दिउँसो मृत फेला परेकी हुन् ।

फागुन ३ गते बिहान करिब ११ः५० बजेको समयमा ४२ वर्षीय महन्थ राय यादव र उनकी श्रीमती आरती देवी यादव बसोबास गर्दै आएको रक्सी पसलसहितको घरबाट कोही पनि बाहिर ननिस्केपछि स्थानीयले शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट खटिएको टोलीले स्थानीय तथा जनप्रतिनिधिहरूको रोहबरमा घरको ढोका खोली हेर्दा आरती देवीको शव आफ्नै सुत्ने कोठाको काठको खाटमा उतानो अवस्थामा फेला परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी नायव उपरिक्षक विष्णु प्रदीप बस्यालका अनुसार मृतकको घाँटीमा धारिलो हतियारले काटिएको गहिरो चोट देखिएको छ भने खाट नजिकै रगत लतपतिएको अवस्थामा एउटा बन्चरो समेत बरामद गरिएको छ ।

घटनापछि आरती देवीका श्रीमान महन्थ राय यादव फरार रहेका छन् । श्रीमतीको हत्या गरी श्रीमान फरार भएको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य तीव्र पारेको छ । घटनाको प्रकृति हेर्दा पारिवारिक विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर थप कानुनी प्रक्रिया र अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update