Harsamaya
कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बझाङ - बझाङमा कुकुरलाई पुलबाट सेती नदीमा फाल्ने एक जना महिला पक्राउ परेकी छन्।

जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका–३ पडेष गाउँकी ४२ वर्षीया बिमला देवी रोकायालाई प्रहरीले पक्राउ गरेको हो।

पानकोट पुलको पश्चिम किनारामा रहेको रेलिङको पाइपमुनिबाट एक जना महिलाले कुकुरलाई धकेलेर सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा प्रसारण भएको थियो। भिडियो सार्वजनिक भएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा कुकुरलाई पुलबाट फाल्ने महिला बिमला देवी रोकाया रहेको खुलेपछि उनलाई २०८३ असोज १ गते बेलुकी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ परेकी रोकायामाथि पशुपन्छीप्रति निर्दयी व्यवहार गरेको घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update