काठमाडौं - काठमाडौँमा स्रोत नखुलेको ३४ लाख ९५ हजार रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ का ४२ वर्षीय सन्तोष भुसाल र पर्साको वीरगञ्ज महानगरपालिका–२१ का ४० वर्षीय प्रवेश महत्तो रहेका छन्।
काठमाडौँ महानगरपालिका–२९ अनामनगरस्थित किम्ची रेस्टुरेन्टमा स्रोत नखुलेको हुण्डीको रकम कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका दुवै जनाको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद गरिएको हो।
प्रहरीले उनीहरूविरुद्ध हुण्डीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

