राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका छन् ।बुधबार जापान टोकियोस्थित नारिता विमानस्थलबाट राष्ट्रपति पौडेल नेपाल आएका हुन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति जापान गएका थिए । उनको टोली सोमबार जापान पुगेको थियो ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
मोरङ-६ मा चुनावी सरगर्मी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मोरङ क्षेत्र नम्बर ६ को राजनीतिक तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ । परम्परागत रूपमा ठूला दलको प्रभाव रहेको यो क्षेत्रमा यसपटक नयाँ शक्ति र पुराना अनुहारबीच रोचक प्रतिस्पर्धा देखिने संकेत देखिएका छन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला विजयी भएको यही क्षेत्रमा उनी पुनः चुनावी मैदानमा उत्रिएका छन् । कोइराला यतिबेला नियमित घरदैलो अभियानमा छन् ।
एकैदिन १४ हजार ४०० रुपैयाँ बढ्यो सुनको मूल्यः नेपाली बजारमा आज सुनको मूल्य एकैदिन १४ हजार ४०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीनलाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार एकतोला सुनको मूल्य दुई लाख ९० हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।
भ्रष्टाचार मुद्दा दायर: हुम्लाको ताजाँकोट गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरू विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । गैरकानूनी लाभ वा हानि पुर्याई भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
१० न्यायाधीशको सरुवा: १० जिल्ला न्यायाधीशको सरुवा र २० जिल्ला न्यायाधीशको पदस्थापन सिफारिस भएको छ । बुधबार बसेको न्यायपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै, आजको बैठकले अन्य २० जिल्ला न्यायाधीशको पदस्थापनका लागि सिफारिस गरेको छ।
बीमाको समस्या समाधान गरेर नियमन गर्न जरुरी : प्रधानमन्त्री सुशिला कार्कीले बीमाको समस्या समाधान गरेर यसलाई नियमन गर्न जरुरी रहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित स्वास्थ्य बिमाको वर्तमान अवस्था तथा भावी मार्गचित्रसम्बन्धी छलफलमा उनले पहिलाका नेताहरुले सबैका लागि सोचेर काम गरेपनि बीमालाई एकद्वार प्रणालीबाट लागू गरे गरिब, निमुखा, वृद्धले सुविधा पाउने बताइन् । उनले भनिन्, ‘जसलाई दिनुपर्ने हो त्यसले त त्यो सुविधा पाउनुपर्छ नि, गरिब, निमुखा, वृद्धले पाओस् न, दिने भनेर सबैलाई दिएर पनि हुँदैन । यस्तो खालको समस्या छ यो हाम्रो पालामा होइन पहिलै भएको कुरा हो ।
नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक: नेपाली महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ । क्रिकेट संघ नेपाल (क्यान) सँगको सहकार्यमा एक्सट्रिम इनर्जी ड्रिङ्कले आयोजना गरेको विशेष कार्यक्रममा बुधबार नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको जर्सी अनावरण गरिएको हो । साथै उक्त कार्यक्रममा क्यान र एक्सट्रिम इनर्जी ड्रिङ्कबीचको साझेदारीसमेत औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।

