फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक भएको छ । निर्वाचन आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । आयोगले एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूना समेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
बढ्यो मूल्यः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार डिजेल र मट्टितेलको भाउ बढेको हो । आइतबार बिहानदेखि लागु हुने गरी मूल्य बढाइएको निगमले जनाएको हो ।निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अझै पनि संसद् पुनःस्थापनाको पक्षमा रहेको बताएका छन् । उनले संसद् पुनःस्थापनाको मुद्दाबारे सर्वोच्च अदालतले चाँडो फैसला गर्नुपर्ने माग समेत गरे । शनिबार एमालेको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संसद्बारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने टिप्पणी गरेका हुन् ।
राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमण : राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म जापानको औपचारिक भ्रमणमा जादै छन्। नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही नेपाल एयरलाइन्सको उडान नं ४३३ बाट आइतबार राति ११ः३० बजे जापान प्रस्थान गर्नुहुने परराष्ट्र सचिव अमृतबहादुर राईले जानकारी दिए ।
कांग्रेसले ‘भिजन-१०’ घोषणापत्र ल्याउने: नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि सार्वजनिक गर्ने घोषणापत्रमा ‘भिजन–१०’ समेट्ने भएको छ ।शनिबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले घोषणापत्रले मुलुकको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दै सुशासन, विकास र व्यवहारिक कार्ययोजनालाई केन्द्रमा राख्ने बताएका छन्। प्रवक्ता चालिसेका अनुसार कांग्रेसको घोषणापत्र केवल आकांक्षा र प्रतिबद्धतामा सीमित रहने छैन।
छुट्टै नियामक निकाय गठन गरिने : कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका लागि छुट्टै विशिष्टीकृत नियामक निकाय गठन गरिने भएको छ । पाँचवर्षे वित्तीय क्षेत्र विकास रणनीति (आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७) ले गैरबैङ्किङ वित्तीय संस्थाको स्थापना, सञ्चालन र नियमनका लागि अलग्गै संस्थागत संयन्त्र विकास गर्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको हो ।
भारतसँग नेपाल पराजित : पोखरामा शनिबारदेखि सुरु भएको साफ यू–१९ महिला च्याम्पियनसिप फुटबलमा घरेलु टोली नेपालले निराशाजनक सुरुवात गरेको छ । पोखरा रंगशालामा खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली भारतसँग ०–१ गोलले पराजित भयो । त्यसअघि, शनिबार नै खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेशले भुटानलाई १२–० गोलको विशाल अन्तरले हराएको थियो।

