Harsamaya
सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : चुनाव गर्ने कि संसद् पुनःस्थापना? 

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू अझै पनि संसद् पुनःस्थापनाको पक्षमा रहेको बताएका छन् । उनले संसद् पुनःस्थापनाको मुद्दाबारे सर्वोच्च अदालतले चाँडो फैसला गर्नुपर्ने माग समेत गरे । 

शनिबार एमालेको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संसद्‌बारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने टिप्पणी गरेका हुन् ।

‘अदालतले तत्काल फैसला दिनुपर्छ चुनाव गर्ने कि पुनःस्थापना गर्ने (संसद्), हामीले पुनःस्थापनाको माग गरिरहेका छौं त्यो सुन्दै नसुन्ने, संविधान मिचिएको छ भनिरहेका छौं हामी । अदालतले बोल्नुपर्‍यो, संविधान मिचिएको छैन भने पनि मिच्न पाइन्छ भने पनि अदालतले भनेपछि हामी मान्छौं’, ओलीले भने ।

अदालतले जे फैसला गरे पनि चुनावअघि नै गर्नुपर्ने ओलीको भनाइ छ । देश संवैधानिक संकटमा फसेको बेला मौन बस्दा अदालतको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था बन्ने ओलीको टिप्पणी छ ।

एमाले अध्यक्ष ओलीले फागुन २१ मा चुनाव हुन्छ कि हुँदैन भन्ने अझै टुंगो नभएको समेत बताए । उच्च पहाडी र हिमाली भेगमा मान्छे नै नभएको भन्दै ओलीले भोट हाल्नका लागि हिमाल चढ्नजस्तै गरी कोही नजाने बताए ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update