Harsamaya
माघ १६ : यौनिक अल्पसङ्ख्यकरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग देखि चीनका सडकहरुमा चालकविहीन कारसम्म
ग्राफिक्सः हर समय/harsamaya

गृह मन्त्रालयले वडा तहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ । निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै मन्त्रालयले सो अवधारणा ल्याएको हो । अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

राष्ट्रपति पौडेल जापानको औपचारिक भ्रमणमा जादैँ : नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल यही माघ १८ गते जापानको चार दिने औपचारिक भ्रमणमा जाने भएको छ ।
परराष्ट्र सचिव अमृत बहादुर राईका अनुसार जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको यो भ्रमण मुख्यतः ७०औँ वार्षिकोत्सवको उत्सव मनाउने उद्देश्यमा केन्द्रित रहनेछ ।
भ्रमणका क्रममा कुनै पनि द्विपक्षीय सम्झौता, सन्धि वा एमओयुमा हस्ताक्षर गर्ने तयारी भने नरहेको स्पष्ट गरिएको छ ।

नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता आपसी सम्मान, मित्रता र सहकार्यमा आधारित सम्बन्ध निरन्तर सुदृढ हुँदै आएको छ ।

यौनिक अल्पसङ्ख्यक र यौन श्रमिकहरूलाई मतदानका लागि सहज व्यवस्था गर्न माग : नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र यौन श्रमिकहरूलाई मतदानको अधिकार प्रयोग गर्न समेत असहज भएको सरोकारवालाहरूले बताएका छन् ।
मायाको संसार नामक संस्थाले आयोजना गरेको ‘नीति शक्ति र प्रतिनिधित्व : ट्रान्सजेन्डर यौन श्रमिकहरूको राजनीतिक अस्तित्वदेखि नेतृत्वसम्म’ विषयक अन्तरक्रियाका सहभागीहरूले यौन श्रमिकहरू हरेक तहबाट हेपिएको गुनासो गरे ।
अधिकारकर्मी मञ्जु अधिकारीले पहिले नागरिकको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ भनेर राजनीतिक दलहरूले सोच्नुपर्ने धारणा राखिन ।
उनले विश्वास गरिएका दल र नागरिकले सबै समुदायका प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने बताइन । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि सहज मतदानको व्यवस्था हुनु जरुरी छ । जो जहाँ छ त्यहीबाट मतदान गर्ने व्यवस्था भए समुदायको प्रतिनिधित्व र नामावलीमा नाम बढ्ने, देशकै नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार सहनु पर्दैन थियो होला,’ उनले भनिन् ।

निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : नेपाली काङ्ग्रेसका सभापति गगन थापाले नेपाली काङ्ग्रेस एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचन तर्फ अगाडि बढी रहेको बताएका छन् । मधेस प्रदेश कार्यसमिति र प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको विशेष कार्यक्रममा उनले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति र पार्टीका अन्य नेताहरूसँग निरन्तर संवादमा रहेको भन्दै फागुन २१ गतेको निर्वाचन एकसाथ अगाडि बढ्ने तयारी गरिरहेको बताए ।

उनले भने, ‘अहिले नेपाली काङ्ग्रेसको निवर्तमान सभापति शेर बहादुर देउवासँग निरन्तर संवादमा छु, पार्टीका अन्य नेताहरूसँग पनि निरन्तर संवादमा छु ।

सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले : सर्लाही जिल्लाका १२ वटा स्थानीय तहमा हात्तीपाइले (फाइलेरिया) रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान सुरु गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औषधि सेवन गराउने तयारी गरिएको हो ।

विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत असोज महिनामा सर्लाहीका २० वटै पालिकामा नमूना सङ्कलन गरी परीक्षण गरेको थियो। परीक्षणपछि जिल्लाको दक्षिणी क्षेत्रका १२ पालिकामा हात्तीपाइलेको सङ्क्रमण अझै सक्रिय अवस्थामा रहेको देखिएपछि औषधि खुवाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या :  सिरहामा गोली हानी एक जनाको हत्या भएको छ । सिरहा नगरपालिका–१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।

स्थानीयका अनुसार यादव वडा नम्बर–७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

घटनाबारे जानकारी दिँदै वडा अध्यक्ष महेश कुमार यादवले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या गरिएको भन्ने खबर आफूले पनि पाएको बताए। 

सुन आज २० हजार ५०० रुपैयाँले घट्यो : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन २० हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन लाख १८ हजार ८०० सय रुपैयाँ निर्धारण गरिएको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो जुन इतिहासकै उच्च मूल्य हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । 

चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार : चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् । चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ ।

जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्याच राजमार्ग र एक्सप्रेसवेहरूमा ठूलो मात्रामा परीक्षणहरूमा परिक्रमा गर्न थालेको थियो ।

चाङ्गान टेक्नोलोजीका इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम डिजाइन र विश्लेषणका उपप्रमुख इन्जिनियर लिउ युकिङका अनुसार यस्ता कारहरु क्रसिङ, ब्याकलाइट अवस्था, रातको समय, वर्षा र कुहिरो जस्ता चुनौतीपूर्ण परिदृश्यहरूमा बढी अनुकूलनशीलता र सुरक्षाका साथ प्रदर्शन गर्न सक्षम पारिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  २२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update