काठमाडौं - गृह मन्त्रालयले वडा तहमा क्रियाशील राजनीतिक दलका पदाधिकारी एवं प्रबुद्ध व्यक्तिको सहभागितामा स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने अवधारणा तयार गरेको छ ।
निर्वाचनका सबै प्रक्रियामा राजनीतिक दल, नागरिक समाज, सञ्चार जगत, निजी क्षेत्र एवं प्रबुद्ध व्यक्तिको भूमिका महत्त्वपूर्ण रहने तथ्यलाई मध्यनजर गर्दै मन्त्रालयले सो अवधारणा ल्याएको हो । अवधारणा कार्यान्वयनका लागि मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार समेत गरेको छ ।
वडा तहमा रहेका राजनीतिक व्यक्ति, पदाधिकारी एवं प्रबुद्ध व्यक्तिलाई निर्वाचन व्यवस्थापनलगायत कार्यमा समावेश गराइ निर्वाचनमा निजको अपनत्व अभिवृद्धि गरी गराई निष्पक्ष निर्वाचन सम्पन्न गर्ने अभिप्रायले अवधारणा सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

