काठमाडौं - नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र यौन श्रमिकहरूलाई मतदानको अधिकार प्रयोग गर्न समेत असहज भएको सरोकारवालाहरूले बताएका छन् ।
मायाको संसार नामक संस्थाले आयोजना गरेको ‘नीति शक्ति र प्रतिनिधित्व : ट्रान्सजेन्डर यौन श्रमिकहरूको राजनीतिक अस्तित्वदेखि नेतृत्वसम्म’ विषयक अन्तरक्रियाका सहभागीहरूले यौन श्रमिकहरू हरेक तहबाट हेपिएको गुनासो गरे ।
अधिकारकर्मी मञ्जु अधिकारीले पहिले नागरिकको अधिकार कसरी सुरक्षित गर्न सकिन्छ भनेर राजनीतिक दलहरूले सोच्नुपर्ने धारणा राखिन ।
उनले विश्वास गरिएका दल र नागरिकले सबै समुदायका प्रतिनिधित्वलाई ध्यान दिनुपर्ने बताइन । ‘यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूका लागि सहज मतदानको व्यवस्था हुनु जरुरी छ । जो जहाँ छ त्यहीबाट मतदान गर्ने व्यवस्था भए समुदायको प्रतिनिधित्व र नामावलीमा नाम बढ्ने, देशकै नागरिक भएर पनि अनागरिक जस्तो व्यवहार सहनु पर्दैन थियो होला,’ उनले भनिन् ।
मायाको संसारको संस्थापक अध्यक्ष सुनिता लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र यौन श्रमिकहरूलाई राज्यले गर्ने व्यवहार गलत भएको धारणा राखिन् ।
उनले भनिन्,‘समुदायको राजनीतिमा सहभागिता कम छ । मत हाल्न जाँदा नै सहज तरिकाले पाइँदैन । कतिपयको मतदाता परिचयपत्र नै छैन । दलहरूले देखाउने एउटा र गर्ने व्यवहार अर्को हुँदा राजनीतिक प्रतिनिधित्वमा समस्या हुँदै आएको छ ।’
लामाले नागरिकतामा वास्तविक नाम अर्कै हुने, घरपरिवार भन्दा अलग बस्नुपर्ने, परिवारले नै नस्विकार्ने, परिवारले नै छोरा या छोरी मात्र भनेर नाम टिपाउने गरेकाले तथ्याङ्कमा समेत असर परेको बताइन् ।
संविधानमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका बारेमा ध्यान दिए पनि आवश्यक कानुनहरू बन्न नसक्दा समस्या भइरहेको उनले बताइन् ।

