Harsamaya
माघ १३ : कोरिया जान नपाएको भन्दै युवाहरूको प्रदर्शन देखि सुनको माग घटेको सम्म
ग्राफिक्सः हर समय/harsamaya

आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्यको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन घोषणा भएयता निर्वाचन हुने वा नहुने आशंकाका बीचबाट सुरु भएको  निर्वाचनको तयारी अहिले सुनिश्चिततातर्फ अघि बढेको छ । निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

कोरिया जान नपाएको भन्दै युवाहरूको प्रदर्शनः रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।

टेरामक्स भ्रष्टाचार प्रकरण:  टेरामक्स खरिद सम्बन्धी मुद्दामा विशेष अदालतले खरिद प्रक्रियासँग सम्बन्धित सक्कल फाइल झिकाउन आदेश गरेको छ । पूर्वमन्त्री मोहनबहादुर बस्नेत समेत जोडिएको उक्त मुद्दामा यस्तो आदेश भएको हो। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मगंलबार उक्त आदेश गरेको हो ।

राष्ट्रियसभा निर्वाचन: निर्वाचन आयोगले गत माघ ११ गते भएको राष्ट्रियसभा सदस्य निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ। निर्वाचनमा दुई करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । यो कुल खर्चको ५५.७७ प्रतिशत हो । यो निर्वाचनमा विनियोजित बजेटको आधा रकम जोगिएको छ ।

रास्वपा सभापति लामिछानेको खुट्टामा चोट: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएको स्वकीय सचिव अभिनाष आचार्यले जानकारी दिए। आचार्यका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रम उनको देब्रे खुट्टामा चोट लागेको थियो । उक्त चोटपछि छालाको भित्री तहमा संक्रमण भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् । 

१०६ जना नयाँ अनुहार मैदानमा: नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरिसकेको जनाएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार यसपटक कांग्रेसले १०६ जना नयाँ उम्मेदवारलाई चुनावी प्रतिस्पर्धामा अघि सारेको छ । प्रवक्ता चालिसेले बागी उम्मेदवारी दिएका व्यक्तिहरूलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिइसकिएको जानकारी दिँदै अधिकांश स्थानमा उम्मेदवारी फिर्ता भइसकेको बताए ।

सुनको माग घट्यो: नेपालसहित विश्वभर सुन र चाँदीको मूल्य तीव्र रूपमा बढ्नुको मुख्य कारण युद्धको प्रभाव, विश्वव्यापी असुरक्षा र कागजी मुद्राप्रति घट्दो विश्वास भएको नेपाल सुनचाँदी व्यवसायी संघका अध्यक्ष महेन्द्ररत्न शाक्यले बताएका छन् । उनले संसारमा जब–जब युद्ध, महामारी, भूकम्पजस्ता संकट र असुरक्षाको वातावरण सिर्जना हुन्छ, तब लगानीकर्ताहरू आफ्नो पूँजी सुरक्षित राख्न सुन र चाँदीतर्फ आकर्षित हुने बताए ।

 

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  २२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update