काठमाडौं - रोजगार अनुमति प्रणाली(इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
कृषि तथा पानीजहाज क्षेत्रका लागि भाषा उत्तीर्ण गरेर रोस्टरमा वर्षदिनभन्दा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
भाषा तथा सीप परिक्षा उतीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म पनि रोजगारदाताको छनोटमा नपरे नाम हट्ने भएकाले दुई बर्ष म्याद थप गर्न माग गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा रहेकी झापाकी अनिषा बस्नेतले रोस्टर सकिन लागेकाले म्याद थप गर्नुपर्ने माग रहेको बताए ।
प्रर्दशनमा सहभागीहरुले इपिएसको लुट धन्दा बन्द गर, कृषि तथा पानीजहाजको रोष्टर अवधी थप गर, पासरलाई छिटो भन्दा छिटो कोरिया लगियोस, २ बर्ष म्याद थप गरियोस लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

