काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएको स्वकीय सचिव अभिनाष आचार्यले जानकारी दिए।
आचार्यका अनुसार माघ ५ गते जनकपुरमा आयोजित कार्यक्रम उनको देब्रे खुट्टामा चोट लागेको थियो । उक्त चोटपछि छालाको भित्री तहमा संक्रमण भएपछि उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।
‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ।
त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ’, उनका स्वकीय सचिव अविनाष आचार्यले भनेका छन् ।
चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार उनी अस्पताल भर्ना भएका आचार्यले जनाएका छन् । पूर्ण उपचार र स्वास्थ्य सुधारपछि मात्र लामिछाने पुनः नियमित राजनीतिक तथा सांगठनिक अभियानमा फर्किने बताएका छन् ।

