प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमकाबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि समस्यालाई तक्षणमै पहिचान गरी समाधान गर्न केन्द्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए ।
देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
राष्ट्रियसभा निर्वाचन: राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ ११) निर्वाचन भएको छ । निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच गठबन्धन भएको थियो । निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् ।
थप प्रमाण झिकाउन सर्वोच्चको आदेश: सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश दिएको छ। न्यायाधीश डा मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज उक्त आदेश दिएको हो ।
नवलपुर क्षेत्र तनावग्रस्त: सर्लाहीको नवलपुरमा रहेको मोहन आयुर्वेद औषधालयमा उपचारका क्रममा एक युवतीको मृत्यु भएको छ । पाइल्सको समस्याबाट पीडित १८ वर्षीया हंसु पासवान उपचारका लागि औषधालय पुगेकी थिइन्, तर उपचारकै क्रममा उनको मृत्यु भएको हो । लालबन्दी नगरपालिका–२, पुनर्वासकी स्थायी बासिन्दा हंसुको अवस्था सुरुमा सामान्य रहेको परिवारजनको भनाइ छ ।
एमालेको भोट जनार्दन शर्मालाई: नेपाल कम्युनिष्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तालमेलको सहमति भएको छ । दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
गृहले भन्योः गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
सुनको मूल्य: स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन दुई हजार ४०० र चाँदी दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल ६ हजार ४८० कायम भएको छ ।

