Harsamaya
माघ ७ : माधव नेपालको उम्मेदवारीविरुद्ध उजुरी दर्ता देखि इरान-अमेरिका  तनाव सम्म
ग्राफिक्सः हर समय/harsamaya

विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा सङ्गीता कौशल मिश्रासँग पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ ।

न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज उक्त रकम धरौटी लिएर तारिखमा राख्ने आदेश गरेको हो 

अदालतले उक्त नगद धरौटी वा बैंक जमानत नदिए  थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइ दिनसमेत आदेश गरेको छ ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।

माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता :  पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालको उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै रौतहट क्षेत्र नं. १ मा उजुरी दर्ता भएको छ ।

सोही निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम नरेश यादवले निर्वाचन अधिकृतको कार्यालय गौरमा नेपालविरुद्ध उजुरी दिएका हुन् ।

उम्मेदवार यादवले दर्ता गराएको उजुरीमा नेपालविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेको दाबी गरिएको छ । पतञ्जली योगपीठको जग्गा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा नेपालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा चलिरहेको र उनी निलम्बित अवस्थामा रहेको जिकिर उजुरीमा गरिएको छ ।

तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँचविरुद्ध उजुरी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मङ्गलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ता गरेका तीन हजार ४८७ उम्मेदवारमध्ये चार जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । 

सुनसरी जिल्ला निर्वाचन क्षेत्र नं २ का एक, रौतहट जिल्ला क्षेत्र नं १ का एक, भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं २ का दुई र कैलाली जिल्ला निर्वाचन क्षेत्र नं १ का एक उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । देशभरका १६५ वटै निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पाँच वटा उजुरी दर्ता भएको उनले सुनाए । 

फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने :  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ ।

मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे।

तर उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रूपमा गर्न नपाइने बताए। ‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ। आयोगले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार राख्छ,’ उनले भने।

यस वर्षको एसईई चैत १९ गतेबाट सुरु : २०८२ सालको एसईई परीक्षा चैत १९ गते देखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा एसइईको समय तालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत १९ गते बिहीबारबाट सुरु हुनेछ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा छ । सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अङ्ग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ ।

विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टी-२० विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने निर्णय गरेको छ ।

बुधवार बसेको आइसिसीको बैठकले उक्त निर्णय गरेको हो । विश्वकप खेल्न भारत नजाने बङ्गलादेशको अडानपछि उक्त निर्णय गर्न आईसीसीमा मतदानसमेत भएको थियो । बहुमत बोर्ड सदस्यले अर्को देशलाई मौका दिनुपर्ने मत जाहेर गरेपछि आइसिसी उक्त निर्णयमा पुगेको हो ।

आईसीसीले बंगलादेश क्रिकेट बोर्ड लाई एकदिनको समय दिएको छ ।   उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।

इरान–अमेरिका तनाव चर्कियो : इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका विदेशमन्त्री अब्बास अराघचीले संयुक्त राज्य अमेरिकाविरुद्ध अहिलेसम्मकै सबैभन्दा प्रत्यक्ष चेतावनी दिएका छन् । उनले यदि इरानमाथि नयाँ आक्रमण भयो भने इस्लामिक गणतन्त्रले उपलब्ध सबै सैन्य क्षमताबाट जवाफी कारबाही गर्ने स्पष्ट सन्देश दिएका हुन् । 

द वाल स्ट्रिट जर्नलमा प्रकाशित आफ्नो अभिमत लेखमार्फत विदेशमन्त्री अराघचीले इरानका सशस्त्र फौज पूर्ण रूपमा तयार रहेको बताउँदै सन् २०२५ को जुनमा इजरायलसँग भएको १२ दिने युद्धका बेला अपनाइएको संयम अब दोहोरिन नसक्ने संकेत गरे । उनका अनुसार, यस्तो अवस्था उत्पन्न भएमा त्यसको असर केवल इरान वा इजरायलमै सीमित नहुने, सम्पूर्ण क्षेत्र र विश्वभरका सर्वसाधारण प्रभावित हुनेछन् ।

 

 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update