Harsamaya
विश्वकप खेल्न भारत नजाले  बंगलादेशको  अडान, भारत नगए अर्को देशलाई मौका दिने आईसीसीको निर्णय

काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बंगलादेश टी-२० विश्वकप खेल्न भारत नगए अर्को देशलाई मौका दिने निर्णय गरेको छ ।

बुधवार बसेको आइसिसीको बैठकले उक्त निर्णय गरेको हो । विश्वकप खेल्न भारत नजाने बङ्गलादेशको अडानपछि उक्त निर्णय गर्न आईसीसीमा मतदानसमेत भएको थियो । बहुमत बोर्ड सदस्यले अर्को देशलाई मौका दिनुपर्ने मत जाहेर गरेपछि आइसिसी उक्त निर्णयमा पुगेको हो ।

आईसीसीले बंगलादेश क्रिकेट बोर्ड लाई एकदिनको समय दिएको छ ।   उक्त समयमा बंगलादेशले अडान नफेरे आइसीसीले अर्को टोलीलाई विश्वकपमा मौका दिनेछ ।

ईएसपीएन क्रिकइन्फोकाअनुसार बङ्गलादेशको ठाउँमा स्कटल्याण्डले अवसर पाउने सम्भावना छ । स्कटल्याण्ड युरोपेली छनोटमा नेदरल्याण्ड्स, इटाली र जर्सी पछि परेको कारण २०२६ को टी-२० विश्वकपको लागि छनोट हुन असफल भएको थियो ।

भारत र बङ्गलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरुआत भएको हो । 

प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update