मधेशका सुरज यादव सानैदेखि नाटक हेर्न मन पराउँथे । सडक नाटकहरू हेर्थे । पब्लिक जमघट एकदम मन पराउने सुरजलाई विद्यालयदेखि नै अभिनयमा रुचि थियो । मधेशलाई नै आफ्नो आधारभूमि बनाएर सडक नाटकमा रमाइरहेका उनी सडक नाटककै लागि काठमाडौं आए । सडक नाटकमा रमाएका उनको यात्रा मोडियो र थिएटरमा रमाउन थाले । विगत १६ वर्ष देखि उनी मण्डला थियटरमा आबद्ध छन् । मण्डलाको बोर्ड मेम्बर उनै यादवसँग हर समयले गरेको कुराकानी :-
तपाईंको नाटक यात्राको बारेमा भनिदिनु न ।
म भित्री मधेशको मान्छे । कक्षा ९ मा पढ्दा एकदमै रहर थियो पब्लिकको अगाडि गएर बोल्न । नेताहरु देखेर लोभ लाग्थ्यो । कक्षा १० मा पुग्दा ‘याक्टर’ बनौ जस्तो फिल भयो । त्यहाँ धेरै थियटरहरु थिएन । एउटा थियो इन्ट्री गर्न एकदमै गार्हो थियो । सडक नाटक केही वर्ष गरे । त्यसपछि म काठमाडौँ आए । सडक नाटक गर्छु भनेर काठमाडौँ आएको थिए ।
त्यो बेला नेट सबैको पहुँचमा थिएन । साइवरहरूमा मात्र नेट चल्थ्यो । थियटर घर पत्ता लगाउन मलाई ६ महिना लाग्यो । पत्रिका सधैं पढ्थे । पत्रिकामा न्यूज खोज्थे । कुनै न कुनै दिन नाटकको बारेमा न्यूज छापिएला भन्ने आशामा । यतिकैमा ६/७ महिना बित्यो । एकदिन गुरुकुलको बारेमा पत्रिकामा छापिएको थियो । गुरुकुल बानेश्वर मात्र लेखिएको थियो । अनि बानेश्वर पत्ता लगाउन थाले । म भक्तपुरमा बस्थे बानेश्वर कहाँ हो थाहा थिएन । नयाँ बानेश्वर त आए तर गुरुकुल छैन/भेटिएन । धेरै जनालाई ठाउँ सोधे थाहा छैन भने । हिँड्दा हिँड्दै अलि पर गएपछि एउटा नाटक घर पुगे । गुरुकुल त्यही रहेछ । भित्र एउटा नाटकको रिहर्सल भैरहेको थियो । ओहो! नाटकको स्पेस त यस्तो हुदो रहेछ भन्ने थाहा भयो । सडक नाटक गर्न आएको थियटरको बारेमा थाहा भयो । त्यहाँबाट बिस्तारै कन्ट्याक्ट हुँदै गयो । निरन्तर १५-१६ वर्षदेखि मण्डला थियटरमा छु।
प्रर्दशनको तयारीमा रहेको तपाईंले निर्देशन गर्नु भएको नाटक ‘बहुरिया’ कस्तो नाटक हो , के देखाउन खोज्नु भएको छ ?
‘बहुरिया’ मधेशमा बुहारीलाई भनिन्छ । बुहारी शब्द एकदमै स्विट र माया गरेर बोलिने शब्द हो । केटी मान्छे विवाह नहुन्जेल आमाबुवासँग बस्छिन् । यो मेरो घर हो फिल गर्न लागेपछि उनको बिहे हुन्छ । माइतीघर छोडेर अर्को घरमा जानुपर्छ । अर्को घरमा त्यो समाजको आफ्नै विचार, नियमहरु र रितिरिवाज हुन्छ । कुनै रितीरिवाजले राम्रो गर्छ । कुनैले नराम्रो बनाउँछ । सामाजिक परिबन्धमा यसरी बाधिएको हुन्छ गर्न मन लागेको हुन्छ सकिरहेको हुँदैन । राम्रो गर्न खोज्यो भने त्यसको स्वतन्त्रता माथि प्रश्न उठ्छ । केही न केही चिजले रोकिरहेको हुन्छ । सर्कलले घेरिराखेको हुन्छ । सर्कलबाट निस्कन गार्हो र धेरै एनर्जी खर्च गर्नुपर्छ । त्यसमा पनि धेरै जना सफल हुदैंनन् । म यस्तो गरौंला । त्यस्तो गरौंला । उसको पनि इच्छा होला ।तर जब बिहे हुन्छ रितिरिवाजको नाममा समाज भित्र थिचिन्छ र त्यो थिचिएको पात्र हो ‘बहुरिया’।
खासमा हेर्दा खेरी क्या सुन्दर लाग्छ । एउटा संस्कार त राम्रै हो । तर केही न केही रुपले हामीलाई घेरेको हुन्छ । त्यही एउटा घेरिएको पात्र, थिचिएको पात्र जो आफ्नो इच्छा अनुसार बाँच्न खोजेको हुन्छ । त्यो पात्रसंगै अर्को पुरुष पात्र पनि स्वतन्त्रता खोज्ने मान्छे हुन्छ । स्वतन्त्रता खोज्ने महिला र पुरुष एउटा अवस्थामा फसेर एउटा कोठा भित्र बन्द हुन्छ । एउटा समाजको सोच भित्र घेरिन्छ र त्यस पछिको २ वटा जीवनको एउटा कथा मैले भन्न खोजेको छु ।
प्लेमा कस्ता पात्रहरु राख्नु भएको छ ? नयाँ छन् कि पुराना कलाकार ?
प्लेमा २ जना मात्र क्यारेक्टर हो । थिएटरमा काम गर्दै गरेको कलाकार हुनुहुन्छ प्रशंसा शिवाकोटी । पछिल्लो समय मैले धेरै क्यारेक्टर मधेशबाट खोज्ने कोसिस गरे । साथीहरुको धेरै व्यस्तताको कारणले मैले कलाकार पाइन् । अन्त्यमा डिरेक्टर, राइटर, एक्टर भएर म आफैं खेलेको छु । मलाई सपोर्ट गर्ने नाट्यकर्मी /रंगकर्मी सरिता दिदि (सरिता गिरी) हुनुहुन्छ ‘एज अ क्रिएटिभ डाइरेक्टर’ को रुपमा । अहिले मलाई धेरै हेल्प भैरहेको छ निर्देशनमा र एक्टिङमा पनि ।
नाटकको डिजाइन कसरी गरिएको छ, गीत-संगीत , बाजा-गाजा केही राख्नु भएको छ ?
नाटकमा त्यस्तो फरक चीज छैन । मधेशको म्युजिकहरु, मिथिल्लासँग जोडिने म्युजिकहरु प्रयोग भएका छन् । त्यसरी म्युजिकलाई गर्ने गरी छैन । यो सोसियल ड्रामा हो । यसलाई एउटा बिहेको कारणले २ जना पात्र कुनै अवस्थामा पुगेर एउटै कोठामा बन्द भएको छ । उसको बिहे धरापमा पुगेको छ । बाहिर छिमेकीमा अर्को बिहे भैरहेको छ । बिहेको सिनहरु छ त्यसलाई म्युजिकको रुपमा प्रयोग गरेको छु ।
नाटक गर्छु, रंगकर्मी बन्छु भन्दा घरका मान्छेले गाली गरेनन् ? परिवारको साथ सहयोग कतिको छ ?
गरे नी ! अहिले पनि छ । आर्थिक कुराहरु उठिहाल्छ । जीवनमा पैसाको आवश्यकता पर्छ । तर कुन रुपमा कमाउने भन्ने कुरा हो । नाटक गर्दै, फिल्म गर्दै कमाउने तरिका हो । कम बेसी त यता उता हुने कुरा नै हो । बुवा ममी बुझ्ने हुनुहुन्छ । धेरै बाधाहरू आएन । तर, आमा बुवाको अर्कै खुवाइस थियो म अर्कै वे बाट आए । धेरै रोक्ने प्रयास त गर्नु भएन ।
नाट्य क्षेत्रमा पैसा छैन भन्ने भास्य निर्माण भएको छ ? कसरी लिनु भएको छ ?
साँच्चै हो र होइन पनि । कुनै काम इमान्दार भएर गरियो भने एकदिन राम्रो हुन्छ । फिल्म र थियटर मेरो आफ्नो हिसाबले ठिकै भैरहेको छ । मलाई ठिक छ भनेर अरुलाई ठिक होला भनेर भन्न गार्हो छ । थियटर र फिल्म अलिकति रिस्की हो । पैसाको सम्भावना एकदमै कम हुन्छ । यसले अलि च्याप्दो रहेछ ।
आफैंले सोलो निर्देशन गर्ने काम कतिको गाह्रो वा सहज लाग्यो ?
काठमाडौँमा मेरो यो पहिलो निर्देशन हो । मधेसमा एक दुईवटा नाटक गरेको थिएँ । एकदमै च्यालेन्जिङ नै हो फर्स्ट नाटक । राइटर र निर्देशनको हिसाबले पनि च्यालेन्जिङ छ । एकदमै गाह्रो कुरा छ ।
बहुरिया नाटक झट्ट नाम सुन्दा मधेशी लवजमा सुनिन्छ ? के यो नाटक मधेशी कथामा आधारित हो कि नेपाली भाषामा ?
कथा उतैको भन्न मिल्दैन । सेटअप चाहीँ मधेशको हो । केही हदसम्म मिल्ने स्टोरी त्यहाँको हो । यो युनिभर्सल हो । मैले स्वतन्त्रताको कुरा उठाए त्यहाँ पनि त्यही उठेको छ । कुनै समाजमा धेरै हुँदोरहेछ कुनैमा कम । मधेशमा अलि धेरै देखिन्छ । स्टोरी पहाडसँग पनि मेल खान्छ । तराईमा पनि । अरु देशमा पनि । मधेशलाई केन्द्रविन्दु बनाएर, मधेशको पात्र बनाएर प्रस्तुत मात्र गरेको हो । भाषा नेपालीमै गर्न लागेको । मेरो क्यारेक्टरले मैथली बोल्नु पर्ने यो स्टोरी वाइज । तर अब काठमाडौँमा गर्दैछु यहाँको अडियन्सलाई टार्गेट गरेर । मधेसमा गरियो भने मैथलीमा गर्छु ।
लगभाग १५ वर्ष कलाकारिता र अभिनय क्षेत्रमा काम गर्नु भयो ? कलाकारितामा निखार ल्याउन के गर्नु पर्छ होला ?
कलाकारिता भनेको लगातार प्रयासको काम हो । सबैले कुनै न कुनै रुपमा ट्रेनिङ लिएका हुन्छौं । टेक्निकहरु सिकेका हुन्छौं । जसरी एउटा गायकले रियाज गर्छ निरन्तर अनि उ राम्ररी गाउन सक्छ । त्यस्तै हो यो कलाकारिता पनि । क्लास लिएपछि टेक्निक थाहा पाइन्छ, राम्रो याक्टिंग गर्छु जस्तो लाग्छ तर त्यसरी हुँदैन । यो एकदमै प्राक्टिसको चिज हो । प्राक्टिस छुट्यो भने धेरै चिजहरु छुट्दो रहेछ । इमोसनको कुराहरु, बढी ल्याङ्ग्वेजहरू बिर्सिदो रहेछ । त्यसैले निरन्तर लाग्नु पर्छ । एक चोटी सिकेर मात्रै हुँदैन । पटक-पटक प्रयास गर्नु पर्छ । यो लामो प्रोसेस हो । जीवनभरि सिकीरहने चिज हो।
थियटरको सुधार र नाटकको मार्केटिङमा के सुधार र साथ सहयोग आवश्यक छ ?
नेपाल सरकारलाई एपोर्च गर्ने सिनियर गुरुहरु देखि नै भैरहेको छ। अहिलेसम्म नेपाल सरकारलाई हामीले बुझाउन सकेका छैनौं वा बुझ्न नखोज्नु भएको हो । नेपालको आफ्नै समस्या, आर्थिक समस्याले गर्दा पनि दिन नखोजेको हो कि? तर मलाई जहाँसम्म लाग्छ सरकारले त इग्नोर नै गरेको हो । थियटर एउटा राम्रो मध्यम हो। जसले आर्ट सेक्टरलाई अन्तर्रास्ट्रिय रुपमा राम्रोसंग चिनाउन सक्छ । तर सरकारले बुझ्न सकेको छैन । त्यसले गर्दा सरकारबाट केही सपोर्ट छैन । बेला-बेला फेस्टिबलहरु गर्दा केही न कही रुपमा हुन्छ स्थानीय तहबाट । तर डाइरेक्ट गभरमेन्टबाट थियटरकै लागि, नाटक घरकै लागि यसरी गर्नुपर्छ भन्ने छैन ।
मार्केटिङको कुरा गम्भीर हो । म बेला-बेलामा सोचिरहेका हुन्छु किन मान्छे थियटरमा अट्रयाक्ट हुन् सकेन ? थियटरमा अडियन्स कम छ । अहिले पनि मान्छेले थियटर बुझ्न सकेको छैन । स्कुलिङ छैन । थियटरको बारेमा केही न केही स्कुल लेभलदेखि नै सिलेबसमा राख्यो भने नाटक के हो भन्ने थाहा हुन्छ । हामीले मौखिक रुपमा भनि राखेका हुन्छौं । सामाजिक सञ्जालबाट भनि राखेका हुन्छौं । न्युजबाट गैरहेको हुन्छ । तर नाटक नहेर्ने मान्छेलाई के लाग्छ भने नाटक यस्तै होला नि नाटक जस्तै । सडक नाटक एताउता नौटंकी टाइपको भने जस्तो लाग्छ । तर नाटक भित्र एउटा ठूलो जीवन छ । हरेक मान्छेले नाटकको क्लास लिनुपर्छ । त्यसबाट जीवन कसरी बाँच्ने ? कसरी जिउने ? भन्ने कुरा सिकाउँछ । त्यहाँ बिहेवको कुरा सिकाउँछ । जीवनका रुल्सहरु सिकाउँछ। इमोसनका कुरा हुन्छ । अरुको भावनालाई कसरी बुझ्ने? आफ्नो भावनालाई कसरी बुझ्ने सिकाउँछ। तर हाम्रो स्कुलिङ छैन । कलेज स्कुलको सिलेबल्समा जबसम्म राख्दैनौं तबसम्म मासमा पुर्याउन एकदमै गार्हो छ । थियटरको बारेमा सिलेबस देखि नै शुरु गर्नुपर्ने हुन्छ ।
अन्त्यमा नाटक ‘बहुरिया’ बारे केही भन्नु छ ?
यो माघ ८ गते देखि शुरु भएर माघको २९ मा सकिन्छ । टिकट विद्यार्थीको लागि ३००, जनरल ५०० र स्पेसल १००० रुपैयाँ हो । नाटक मण्डला थियटर नेपाल, थापा गाउँमा मन्चन हुँदैछ । ‘सुरज यादव’को नाटक मधेशको सेटअपमा होला, मैथलीमा होला जस्तो मान्छेलाई लागेको होला तर यो मधेशको सेटअप हो । पात्र त्यहाँ को हो । तर रिप्रेजेन्ट ओभरअल हो । नेपाली भाषामा मैले नाटक बनाएको छु । सबै जना आइदिनु होला। हेर्नु होला। त्यसमा धेरै कुराहरु पाउनुहुन्छ । हरेक मान्छेले आ-आफ्नो जीवन कतै न कतै भेटाउनु हुन्छ ।



