चर्चित कलाकार कमलमणि नेपाल आफूलाई रंगकर्मी भनेर चिनाउछन् । उनको कलाकारिता यात्रा रंगमञ्चबाट सुरु भएको हो । मोरङको बेलबारीमा जन्मिएका नेपाल स्कुल पढ्दा देखिनै नाटक हेर्ने गर्दथे । राजाको जमोत्सव र स्कुलको वार्षिक उत्सवहरुमा फाट्टफुट्ट नाटक देखाइन्थ्यो, उनी ध्यानपूर्वक हेर्थे । उनका बुवा स्कुलको प्रधानध्यापक थिए । उनले बुवाले अभिनय गरेका नाटक पनि हेरेको थिएँ । त्यतिबेला गाउँमा रेडियो नै मनोरन्जनको मुख्य माध्यम थियो । रेडियोमा दिपकराज गिरी र दिपाश्री निरौलाको रामविलास धनिया भन्ने कार्यक्रम आउँथ्यो त्यो उनी ध्यानपूर्वक सुन्थे । सुनेपछि उनलाई क्यारिकेचर गर्न मन लाग्थ्यो । तराईबासीको क्यारिकेचर फाट्टफुट्ट गर्थे । साथीभाइले पनि गाउँमा लु एक चोटी सुनान भन्थे । उनी खुशी भएर सुनाउँथे । एसएलसी दिने बेला ०५० साल तिर विराटनगरको आरोहण समूह नाटक देखाउँदै उनको गाउँ पुग्यो । नाटक देखाउने ठाउँमा कलाकार तयार हुन समय लाग्यो । ‘उनीहरूले कसैले केही गर्नु हुन्छ ? कोही आएर केही गर्दिन सक्नु हुन्छ ?’ भनेपछि उनलाई (ठुल्बाको छोरा) भाइले ‘जा-जा गर्न न त’ भनेर हौंस्याए । अनि उनले मधेसी लवजमा दर्शकलाई ‘होल्ड’ गरे । त्यो देखेर आरोहण समूहले उनको प्रसंशा गरे । उनी मख्ख परे ।
मनको कुनै कुनामा भएको सपना सजाउन उनी सपनाको शहर काठमाडौँ आए । कम्प्युटर सिक्न आएका उनलाई नाटक गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो । एकेडेमीमा महोत्सव चलिरहेको थियो उनले सुर्खेतबाट आएको बागिना समूहको ‘माइला दाइको थुतुनो’ भन्ने नाटक हेरे । त्यसपछि उनले त्यो नाटकको स्क्रिप्ट आफ्नै दिमाखमा कोरेर गाउँ फर्किए । गाउँभरिको खाटहरु बटुलेर मन्च बनाए । तन्ना बटुलेर पर्दा बनाए । त्रिपाल टाँगेर पेट्रोम्याक्स बाले । अनि गाउँका सबै साथीहरु मिलेर माइला दाइको थुतुनो नाटक गरे । त्यो नाटक एकदमै गज्जब भयो । सबै बाट उनले स्याबासी पाए । त्यसपछि उनलाई नाटकमा लाग्ने थप हौसला र प्रेरणा मिल्यो । नाचघरमा उनले अपलाई गरे । २ नम्बरमा नाम निस्कियो । नाचघरबाट एक वर्षको तालिम लिएपछि विरेन्द्र हमालसँग केही समय काम गरे । काम गर्दा गर्दै उनको रंगकर्मी सुनिल पोखरेलसँग भेट भयो । गुरुकुलमा उनी सुनिल पोखरेलसँगै भए । आरोहण समूहसँग आबद्ध भए । आरोहणले महिनाको एक पटक शनिबार पारेर एकेडेमीमा नाटक मन्चन गर्थ्यो । कमलले २/३ वटा नाटक खेले । एक दिन सुनिल पोखरेलले गुरुकुल खोल्ने कन्सेप्ट ल्याए । त्यसपछि गुरुकुल खुल्यो । गुरुकुलमा उनले २ वर्षको कोर्स गरे । त्यसपछि निरन्तर गुरुकुलमा ११/१२ वर्षसम्म काम गरे । उनै नेपालसँग कलाकारितामा लाग्दा जीवनमा आएका अनगिन्ति उतारचढावबारे हर समयले गरेको कुराकानी ।
आज भोलि कसरी समय बिताउँदै हुनुहुन्छ ?
फाट्टफुट फिल्महरुमा काम गर्छु । सिरियल ‘सक्किगोनी’ बन्द भयो । त्यतिकै बसिरहेको थिएँ । अहिले ६ वर्षपछि फेरि नाटक गरे । यो भन्दा अगाडि 'मार्क्स फर' भन्ने नाटक गरेको थिएँ एकेडेमीमा । त्यो भन्दा अगाडि उतरढोकामा रहेको थियटर भिलेजमा ‘ह्याम्प्लेट’ गरे । ह्याम्प्लेट भन्दा आगाडि ‘यारना’ गरे । त्यो भन्दा अघि गुरुकुलमै ‘अटल बहादुरको आतंक’ भन्ने नाटक गरे । खगेन्द्र लामिछानेको नाटकपछि गुरुकुल बन्द भयो । त्यसपछि थियटर भिलेजमा २ वटा नाटक गरे । थियटर भिलेज पनि बन्द भयो । त्यस पछि अहिले ६ वर्ष पछि ‘बहादुरपुरको दन्त्यकथा’ नाटक गरे ।
सिरियल, नाटक र फिल्म धेरै वर्ष गर्नुभयो , अहिले ६ वर्ष पछि फेरि रंगमञ्चमा नाटक गर्दा कस्तो महसुस गर्नु भएको छ ?
पहिला नाटकमा फोकस गर्थे । नाटकमा बढी मेहनत गर्नुपर्छ । पात्र बनिसकेपछि फिल्ममा 'यक्सन कट'को कारणले गर्दा धेरै समय दिनु पर्दैन । तर नाटकमा बढी समय दिनुपर्छ । फिल्ममा राम्रो भयो भने भैहाल्छ, भएन भने फेरि कट गरेर लिन पाइन्छ । त्यसैले मेहनत गर्ने बानी कम भैसकेको रहेछ । तर फेरि नाटकमा आउँदा अल्छी भएको महसुस गरे । बानी बिग्रेछ। मेहेनत गर्ने बानी हराएछ । नाटकमा हरेक दिन केही नयाँ खोज्ने आवसर प्राप्त हुन्छ । जस्तो, आज गरेको शोमा एउटा गल्ती गरे वा आजै गरेको शोमा राम्रो कुरा आए त्यसलाई भोलि राम्रो बनाउने कोसिस हुन्छ । हरेक शो हरूमा फरक हिसाबले गर्न खोजिन्छ ।
नाटकमा दर्शकको आगाडि बसेर अभिनय गर्नु पर्छ, फिल्मा वा सिरियलमा क्यामेरा अगाडि अभिनय गर्नुपर्छ? तपाईलाई कुन काम गर्दा मज्जा लाग्छ ?
मज्जा लाग्ने त नाटक नै हो । नाटकमा जतिको मज्जा चलचित्र अथवा सिरियलमा हुँदैन । नाटकमा हरेक दिन नयाँ खोज्न सकिन्छ । नयाँ गर्न खोज्ने इच्छा हुन्छ । दर्शकको तत्काल प्रतिक्रिया पाइन्छ । फिल्ममा फिल्म खेलेको ६ महिनापछि प्रतिक्रिया पाइन्छ भने नाटकमा अभिनय गरेको सेकेन्डमै प्रतिक्रिया पाइन्छ । त्यही भएर नाटक गर्नमै मज्जा छ।
अभिनय क्षेत्रमा कसरी टिक्ने ? सुत्र के हो ?
टिकिरहनका लागि महत्वकांक्षा त्याग्नु पर्यो । एउटा संकल्प हुनु पर्यो । मैले गर्ने काम यही हो म यसकै लागि हो र मैले गरिरहनुपर्छ । मैले आज यो क्षेत्रमा छु भने भोलि नै यसको परिणाम खोज्न थाल्यो भने टिकिदैंन । टिक्नका लागि निरन्तरता चाहिन्छ । निरन्तर गरिराख्नु भयो भने केही न केही हुन्छ । तर अब यो हुँदैन भनेर लत्तो छाड्दिनु भयो भने छुटेको छुटेइ हुन्छ । टिक्नका लागि पहिलो चिज पैसा नै हो । नाटकमा पैसा अलि कम छ फिल्महरूमा बढी छ । राम्रो पैसा नाटकमा हुन् थाल्यो भने देखि गार्हो छैन ।
बुवा प्राध्यापक तपाईं कलाकारितातर्फ लाग्नु भयो बुवाले व्यापार-बिजनेस गर्न भन्नु भयो की सहजै साथ दिनु भयो त्यो बेलामा ?
बुवाले म कलाकारिता तिर जाने कुरा चालै पाउनुभएन । जब चाल पाउनुभयो आफैंले 'कन्भिन्स' गरे । बुवाले १-२ वर्ष काठमाडौँमा खर्च पेल्नु भयो । २-३ वर्ष सम्म केही नभएपछि 'लु तेरो केही नहुने भयो फर्की भन्नुभयो' । मेरो कलाकारिताको बुवा सुनिल सर हुनुहुन्छ । उहाँले काठमाडौँमा अझै १ वर्ष बुवासँग समय लिएर आउ भन्नुभयो । केही न केही गर्नुपर्छ भनेर टिकाउनु भयो । अनि मैले बुवासँग फेरि १ वर्षको समय मागे । निरन्तर नाटक गरिरहे । सुनिल सरले गुरुकुल खोल्नका लागि पहल गर्नुभयो । अहिले जहाँ छु सुनिल सरका कारणले छु । हरेक बाआमाले छोरोले चाँडै प्रगति गरोस् चाँडै कमाओस् भन्ने चाहानु हुन्छ । तर बुवाले चाहेको समयमा कमाउन सकिएन । अहिले त सकिएको छैन ।
तपाईंले कलाकारितामा अपस-डाउन भोगिसक्नु भयो, तपाईंका २ सन्तान छन् , उनीहरुलाई यो पेशामा लाग्न पेरणा दिनु हुन्छ की अरु काम गर्न सुझाव दिनुहुन्छ ?
मेरो छोरोले त रहर नै गर्दैन । छोरो त फोटो खिच्न पनि मान्दैन । छोरीले रहर गर्छिन् । तर उनले गर्न चाहिन् भने मैले रोक्ने कुरा हुन्न । मेरो छोरा-छोरीका लागि त एक हिसाबले अभिभावकत्व पनि हुन् सक्छ नि कलाकारिता । तर अब रहर गर्दैनन् भने म कर पनि गर्दिन ।
तपाईंको विचारमा ‘सफल अभिनय’ भन्नाले के बुझिन्छ ? तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ कि तपाईंले आफ्नो भूमिकालाई न्याय गर्नुभयो ?
सफल अभिनय भनेको तपाईंले गरिरहेको काम तपाईंलाई चित्त बुझ्नु हो । मैले गरेको अभिनयले राष्ट्रका लागि केही योगदान हुन्छ भने त्यो राष्ट्रका लागि हो । तर मैले विशुद्ध आफ्नो लागि गर्या हो । राष्ट्रका लागि होइन । कहिले काही गर्दै जाँदा राष्ट्रलाई केही फाइदा पनि हुन्छ । यो विशुद्ध आफ्नो मनले आफ्नै लागि गर्ने कर्म हो ।
रंगमञ्च वा अभिनय क्षेत्रमा आउन चाहने नयाँ पुस्तालाई तपाईं के सुझाव दिन चाहनुहुन्छ ?
यो विशुद्ध आफ्नो मनले आफ्नो लागि गर्ने कर्म हो । तपाईंको मनले भन्छ भने रंगकर्म गर्नु, नाटक गर्नु, अभिनय गर्नु । तर आज भोलि प्रतिफल खोज्नु हुन्छ भने तत्कालै रिजल्ट नआउन सक्छ । कहिले काही आजको भोलि पनी मान्छे चर्चित भएका छन् । कहिले काही वर्षौ लाग्नसक्छ ।
मैले यो क्षेत्रमा लागेर अहिले बाटोमा हिड्ँदा यो मान्छे त कलाकार होइन भनेर चिनिनका लागग झण्डै २६-२७ वर्ष खर्चेको छु । मैले १२ वर्ष त नाटक मात्रै गरे । त्यतिबेला मलाई कसैले पनि चिन्दैन थियो । जब म फिल्ममा आए । सिरियलमा आए त्यसपछी मलाई धेरैले चिन्न थाल्नु भयो । त्यो भएर मैले १२ वर्ष त पर्खिए । पर्खाइ सबै भन्दा महात्वपूर्ण हो । निरन्तरता र लगाव दुइवटै कुरा रहिरह्यो भने ठाउमा पुग्न सकिन्छ ।
मन्चमा काम गर्ने धेरै समकालीन साथीहरु अहिले फिल्ममा चर्चित हुनुहुन्छ । जस्तो सौगात मल्ल, दयाहाङजी, विपीन भाइ, कर्मा हामीसंगै काम गरेका हौं । मैले सिरियलमा काम गरे । जस्तो तीतो सत्यबाट शुरु गरे भद्रगोल हुदै सक्कीगोनी सम्म पुगे । सिरियलमा काम गर्ने धेरै साथीभाईसंग पनि म परिचित छु । चिनजानमा छु । त्यस्तै चलचित्रहरुमा सानो, छोटो र लामो भूमिका गरी झण्डै ५० वटा भन्दा बढीमा काम गरेको छु । चलचित्रमा कम गर्ने कलाकारहरु, प्राविधिकहरूसँग पनि परिचित छु । मलाई कमेडी कलाकारको रुपमा मात्र चिन्नुहुन्छ । मैले फिल्महरुमा गम्भीर खालका भूमिकाहरू गर्या छु । मन्चमा पनि गम्भीर खालका भूमिकाहरु गर्न सक्छु, गर्छु । नाटक हेर्ने साथीहरुले/दर्शकहरुलाई थाहा छ ।
दर्शकलाई रूवाउन सजिलो कि हँसाउन ?
हसाउँन गार्है कुरा हो । दर्शक भनेको हाम्रो आँखा हो । मेरो आँखा जस्तो हो दर्शकको आँखापनि त्यही नै हो । दर्शकले कलाकारलाई हेर्ने भनेको आँखाबाट हेर्ने हो नी । आँखाले तपाइको आँखालाई हेर्ने होनी । तपाईं रुनु भयो भने दर्शक तपाईं संगै रुन्छन् । तपाइको आँखा हाँस्यो भने दर्शक हाँस्छन् । रुन त् सजिलो छ । एउटा 'सिचुएसन' बनाएर तपाईं रोइदिनु भयो भने तपाईंसंगै दर्शक रुन्छन् । तर तपाईंले दर्शकलाई हँसाउनको लागि तपाईंको चरित्र हाँस्नुपर्यो । त्यो चरित्र हँसाउनलाई 'सिचुएसन' नै चाहिन्छ । त्यसैले दर्शकका आँखा भनेको ठ्याकै कलाकारको आँखा जतिकै हो । त्यो भएर हँसाउन अलि गार्है छ। एउटा मान्छे भक्कानिएर रोयो भने जो पनि रुन्छ । उसको पीडा हेर्न सक्दैन मान्छे त्यति भावुक हुन्छ ।
आगामी रुपमा तपाईंलाई दर्शकले कुन रुपमा देख्न पाउनु हुन्छ ? खुपीको बाउको पात्र फेरि दोहोरिने सम्भावना कस्तो छ ?
खुपीको बाउ पात्रमा अली सम्भावना कमै छ । खुपीको बाउ पात्र धेरै भयो । धेरै देखि सक्नु भयो त्यो एक खालको क्यारेक्टर । त्यो क्यारेक्टरलाई बिर्साएर अर्को एउटा कुनै पात्र जन्माउन मन छ मलाई ।



