काठमाडौं - नेपाली कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनमा देखिएका व्यापक समस्या, गुनासा र अव्यवस्थालाई स्वीकार्दै समाधानका लागि छुट्टाछुट्टै सम्पर्क व्यक्ति तोकेको छ। सदस्यता नवीकरणदेखि नयाँ सदस्यता प्रविष्टि, छुट भएका सदस्य र अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरूको व्यवस्थापनसम्मका विषयमा केन्द्रीय कार्यालयले पाँचवटा अलग-अलग सम्पर्क केन्द्र खडा गरेको छ।
जेठ २२ गते जारी सूचनामार्फत कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले १४औँ महाधिवेशनयता क्रियाशील सदस्यताको अभिलेख, नवीकरण र अद्यावधिक प्रक्रियामा विभिन्न समस्या रहेको संकेत गरेको छ।
सूचनाअनुसार, महाधिवेशनपछि स्वीकृत क्रियाशील सदस्यहरूको अद्यावधिक तथा नवीकरणसम्बन्धी समस्या समाधानका लागि केन्द्रीय कार्यालयका सचिव मुक्ति प्रसाद आचार्यलाई सम्पर्क व्यक्ति तोकिएको छ। यस्तै, नवीकरणका लागि शुल्क बुझाइसके पनि प्रणालीमा प्रविष्ट हुन नसकेका, प्रणाली बन्द हुँदा रोकिएका वा सिफारिस प्रक्रियाबाट छुटेका सदस्यका लागि सचिव प्रेम केसीलाई जिम्मेवारी दिइएको छ।
क्षेत्रीय सभापतिहरूबाट सिफारिस गरिएका नयाँ क्रियाशील सदस्यहरू प्रणालीमा नपरेको, अनलाइन वितरण प्रक्रियामा समस्या देखिएको तथा सदस्यता वितरणमै गडबडी भएको गुनासो बढेपछि त्यसका प्रेम केसीलाई नै सम्पर्क व्यक्ति तोकिएको छ।
कांग्रेसले सदस्यता सम्बन्धी समस्या र गुनासो लिखित रूपमा केन्द्रीय कार्यालयमा पठाउनसमेत आग्रह गरेको छ, जसका लागि हरिचन्द्र खनाललाई सम्पर्क व्यक्ति तोकिएको छ ।
सूचनामा अर्को महत्वपूर्ण पक्ष पनि छ। अन्य दल परित्याग गरेर कांग्रेस प्रवेश गरेका व्यक्तिहरूलाई क्रियाशील सदस्यता उपलब्ध गराउने विषयमा पनि समन्वय आवश्यक परेपछि त्यसका लागि अलग सम्पर्क व्यक्ति तोकिएको छ। जसका लागि विष्णुदेव ठाकुरलाई जिम्मेवारी दिइएको छ।
कांग्रेसले सार्वजनिक रूपमा यति धेरै प्रकृतिका समस्या समाधानका लागि सम्पर्क अधिकारी तोक्नुपरेको अवस्थाले सदस्यता व्यवस्थापन प्रणालीमा अझै गम्भीर प्राविधिक तथा प्रशासनिक चुनौती रहेको देखाएको छ।
आगामी महाधिवेशन र संगठन विस्तारको तयारी भइरहेका बेला सदस्यता व्यवस्थापनकै विषय पार्टीका लागि टाउको दुखाइको विषय बनेको छ।

