Harsamaya
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि निष्पक्ष अनुसन्धान हुनुपर्छ : प्रदीप पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल ।

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको भन्ने चर्चाप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका छन्।

जहाँ गए पनि पार्टी सभापतिलाई गिरफ्तार गर्न लागिएको हो भन्ने प्रश्न उठ्ने गरेको उल्लेख गर्दै पौडेलले विधिको शासन भएको भए गिरफ्तारीको कारण, अपराध र कानुनी आधारबारे प्रश्न गर्न सकिने बताएका छन्। उनले बिनागिरफ्तारी पुर्जी प्रहरी समाचार कक्षमा प्रवेश गर्ने शासनमा के हुन्छ र के हुँदैन भन्ने जवाफ दिन कठिन हुने टिप्पणी गरेका छन्।

पौडेलले इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षण हुनुअघि दुई दिनसम्म प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा राखिएको विषयलाई गम्भीर रूपमा उठाएका छन्। उक्त अवधिमा मोबाइलबाट ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल प्रयोग भएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र केही सन्देश मेटिएको भन्ने प्रश्नको जवाफ कसले दिने भन्दै उनले प्रश्न गरेका छन्।

प्रहरीले बरामद गरेको मोबाइल अनुसन्धान गर्ने प्रहरीकै नियन्त्रणमा हुनुपर्ने उल्लेख गर्दै पौडेलले अनुसन्धानको महत्त्वपूर्ण डिजिटल प्रमाण प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको निजी निवासमा कसरी पुग्यो, कुन कानुनी अधिकारले र कसको निर्देशनमा राखियो भन्ने विषय स्पष्ट हुनुपर्ने बताएका छन्।

उनले मोबाइलबाट के लुकाउन वा मेटाउन खोजिएको थियो र कसलाई जोगाउन खोजिएको थियो भन्ने प्रश्नसमेत उठाएका छन्। साथै, प्रधानमन्त्री र उनको सचिवालयको बिचौलियासँगको सम्बन्ध, उसलाई लामो समयसम्म संरक्षण गर्ने व्यक्ति तथा उसको पहुँच र प्रभावबारे पनि जवाफ मागेका छन्।

“प्रमाण मेटिएको आरोप तिमीहरूमाथि। अनुसन्धानका क्रममा बरामद मोबाइल आफ्नो नियन्त्रणमा राखेको प्रश्न तिमीहरूमाथि। मोबाइलबाट स्क्रिनसट लिएको र डिजिटल सामग्रीमा छेडछाड गरेको आशंका तिमीहरूमाथि। बिचौलियासँगको सम्पर्क र सम्बन्धको प्रश्न तिमीहरूमाथि। अनि जवाफ दिनुपर्ने चाहिँ हामीले?” पौडेलले प्रश्न गरेका छन्।

आफूमाथि उठेका गम्भीर प्रश्नबाट ध्यान मोड्न अरूमाथि राजनीतिक आक्रमण गर्ने र अनुसन्धानलाई राजनीतिक प्रतिशोधको हतियार बनाउने प्रयास भइरहेको उनको आरोप छ।

पौडेलले मुलुकी अपराध संहिता, २०७४ का दफा ९२ र ९३ लगायत प्रमाण नष्ट गर्ने, कसुरदारलाई जोगाउने तथा अनुसन्धान प्रभावित पार्ने कार्यसँग सम्बन्धित कानुनी व्यवस्थाबारे कानुनी सल्लाहकारसँग बुझ्नसमेत सुझाव दिएका छन्।

“निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही हुनुपर्ने गगन थापा हो कि कुमार बेन?” उनले प्रश्न गरेका छन्।

सत्ता, सरकार, प्रहरी र प्रशासनमाथि प्रभाव भए पनि कानुन र न्याय कसैको निजी सम्पत्ति नभएको पौडेलको भनाइ छ। राज्यका संस्थाहरू व्यक्तिगत प्रतिशोध पूरा गर्ने औजार बन्न नहुने उनले बताएका छन्।

आफूमाथि आरोप लगाएर, गिरफ्तारीको हल्ला चलाएर र राजनीतिक आक्रमण गरेर प्रकरण सामसुम पार्न नसकिने चेतावनी दिँदै पौडेलले निष्पक्ष अनुसन्धान, तथ्य, प्रमाण र सत्यको माग गरेका छन्।

“दोषी जोसुकै होस्, कानुनअनुसार कारबाही हुनुपर्छ। यो प्रकरणमा दूधको दूध, पानीको पानी नभएसम्म हामी छाड्ने छैनौँ,” उनले भनेका छन्।

गिरफ्तारीको हल्लाले प्रश्न दबाउन नसक्ने र सत्ताको आडमा सत्य लुकाउन नसकिने उल्लेख गर्दै पौडेलले आफूमाथि उठेका प्रश्नको जवाफ दिन चुनौती दिएका छन्।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update