काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले सरकारले नयाँ परियोजना सुरु गर्नुभन्दा यसअघिका सरकारले अघि बढाएका राम्रा तथा अधुरा परियोजनालाई निरन्तरता दिइरहेको बताएका छन् ।
रिपोर्टर्स क्लबमा आइतबार आयोजित कार्यक्रममा बोल्दै सांसद गजुरेलले सुशासन कायम गर्ने, विकासलाई गति दिने र नेपालको अर्थतन्त्रलाई सबल बनाउने आफ्नो पार्टीको मुख्य एजेन्डा रहेको बताए ।
उनले भने, ‘हामीले राजनीति गरेको विशेष गरेर सुशासनको नारा लिएर, विकासको नारा लिएर हामीले राजनीतिक यात्रा सुरु गरेको हो । हाम्रो पार्टीको मुख्य एजेन्डा भनेको सुशासन कायम गर्ने हो, विकास गर्ने हो, आर्थिक रूपमा नेपाललाई सबल गर्ने हाम्रो मुख्य एजेन्डा लिएर हामी अगाडि बढेका छौँ । आज पनि हामी त्यही कुरामा प्रतिबद्ध छौँ ।’
उनले अहिले राज्यका विभिन्न क्षेत्रमा सुधारका काम भइरहेको उल्लेख गर्दै कतिपय सुधार भइसकेको र कतिपय प्रक्रियामा रहेको बताए । यसअघिका सरकारले अघि बढाएका विकास आयोजनाको अधिकतम उपयोग गर्ने र निर्माणाधीन आयोजनालाई सम्पन्न गर्ने दिशामा सरकार अघि बढिरहेको उनको भनाइ छ ।
उनले भने, ‘पहिलेको सरकारले जति पनि विकास गर्नुभएको छ, हामी त्यसको अधिकतम प्रयोग गर्दै छौँ । जति निर्माणका चरणमा छन्, तिनीहरूलाई टुंगोमा पुर्याउँदै छौँ । कति रुग्ण उद्योगहरूलाई पनि गन्तव्यमा पुर्याउने हिसाबले त्यस दिशामा काम गरिरहेका छौँ ।’
सरकारले यसपटक नयाँ परियोजनाभन्दा पनि पुराना योजनालाई निरन्तरता दिएको उनको भनाइ छ । यसअघिका सरकारले गरेका राम्रा कामको सम्मान गर्दै तिनलाई अघि बढाइएको उनले बताए ।
‘यसपटकको लागि हाम्रो नयाँ परियोजनाभन्दा पनि पहिलेकै परियोजनालाई निरन्तरता दिइरहेका छौँ । त्यो भन्नुको मतलब हामीले योभन्दा अगाडि भएका राम्रा कामको सम्मान गरेका छौँ । सम्मान गर्छौँ र त्यसलाई नै निरन्तरता दिन्छौँ भन्ने कुरा यसबाट प्रष्ट हुन्छ । हामीले सात महिना भयो यो राज्य संयन्त्र सम्हालेको,’ उनले भने ।
लामो समय विकास क्षेत्रमा काम गरेको अनुभव सुनाउँदै गजुरेलले विगतमा विकास आयोजना छनोट गर्दा नेताहरूको व्यक्तिगत तजबिज हाबी हुने गरेको टिप्पणी गरे । त्यसरी छनोट गरिएका कतिपय आयोजनाले अपेक्षित आर्थिक प्रतिफल दिन नसकेको उनको भनाइ छ ।
उनले झापामा निर्माण गरिएको भ्यू टावरको उदाहरण दिँदै विकास आयोजनामा लगानी गर्दा त्यसबाट प्राप्त हुने प्रतिफललाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले भने, ‘पहिले पनि विकास नभएको भन्दिनँ, तर पहिलेको विकासले जुन एउटा परियोजना छनोटको प्रक्रिया थियो, त्यो नेताको आफ्नो तजबिजमा परियोजनाहरू छनोट हुन्थ्यो र विकास हुन्थ्यो । त्यसले आर्थिक विकासमा कम टेवा पुर्यायो । त्यही भएर प्रतिफल दिन सकेन ।’
झापाको भ्यू टावर निर्माणमा करिब तीन अर्ब रुपैयाँ खर्च भएको विषय उठाउँदै उनले संरचना निर्माण हुनु मात्रै विकास नभएको बताए ।
‘अब बाहिर हेर्दाखेरि एउटा परियोजना त बन्यो, तर त्यो उपयोगमा आउन सकेन । त्यसले हाम्रो अर्थतन्त्रमा टेवा पुर्याउन सकेन । भ्यू टावर बनेको छ, तर भ्यू टावरले कति प्रतिफल दियो ? त्यही प्रतिफल हुने ठाउँमा लगानी गरेको भए आज राज्यले उत्पादन गर्थ्यो र राज्यमा त्यो उत्पादनबाट पैसा आउँथ्यो,’ उनले भने ।
गजुरेलले विकास आयोजनाको छनोट गर्दा राजनीतिक स्वार्थभन्दा आर्थिक प्रतिफल र उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।

