Harsamaya

अनुप न्यौपाने नाटक गर्छन् । कविता लेख्छन् । नाटकहरु लेख्ने, अभिनय गर्ने उनी पछिल्लो समय निर्देशनमा व्यस्त छन् । थिएटरमा लगभग १२ वर्ष बिताएका उनी सुरुमा नाटक हेर्न पुगे। नाटक हेर्दाहेर्दै नाटक गरौं जस्तो लाग्यो । अनि कक्षा लिन गए । अभिनयमा उनलाई रुचि थियो । त्यहीँ बहानामा अभिनय सिके। मण्डला आएपछि नाटक गर्न थाले। स्टेज, व्याकस्टेज गर्दा गर्दै अहिले उनी निर्देशन गर्न थालेका छन् ।  त्यहीँ यात्रामा रमाइरहेका छन् । 

नेपाली साहित्यमा स्नातक गरेका उनले अनस्टेज १८-२० वटा नाटक र व्याकस्टेजमासमेत गरी ५०-६० नाटक गरेका छन् । आफैंले निर्देशन गरेको यो उनको दोस्रो नाटक हो। यसअघि ‘कथा एक’ भन्ने नाटक निर्देशन गरेका थिए । अफिसियल रुपमा मण्डलामा उनको यो सोलो दोस्रो नाटक हो  । 

यो नाटक गर्ने प्रेरणा कसरी मिल्यो , कसलाई तपाईंले बढी फलो गर्नुभयो ?
नाटक गर्न रहर थियो । ठ्याकै मैले फलो गर्ने मान्छे छैन । सिक्ने हिसाबले सरहरू दाइहरूबाट सिकिन्छ । तर म यो जस्तो बन्छु भनेर नाटक मात्र होइन कुनैपनि कुरामा कसैको फ्यान हुन सक्दिन । कामको आधारमा अ! दामी काम भयो भन्ने हुन्छ । तर, यो मान्छेले जे गरे पनि खतरा , यो मान्छे जस्तो बन्नु पर्छ भन्ने लाग्दैन । सिकाइको हिसाबले अग्रज दाइहरु र सरहरुलाई हेरेर सिक्दै हुर्किरहेको हो । अभिनय गर्ने रहर थियो । सिक्ने हिसाबले थिएटरसम्म आइपुगेको हुँ । सुरुमा राजेश हमाल राम्रो लाग्थ्यो ।  एउटा न्यूजमा पढेको थिए राजेश हमाल नाटक खेलिरहनुभएको छ भन्ने । कस्तो हुँदो रहेछ राजेश हमालले खेल्ने नाटक भन्रे जिज्ञासाले नाटक हेर्न पुगेको थिएँ । थिएटर भिलेजमा ‘कोर्ट मार्सल’ हेरे । त्यसपछि नाटक हेर्ने रहर बढ्यो ।  नाटकमै कोसिस गरौं भन्ने हिसाबले कक्षा लिन थाले । 

मण्डला थिएटरमा सिरुमारानी मञ्‍चन हुन लागेको छ, यो कस्तो खालको नाटक हो ? यसले कस्तो कथा वस्तु बोकेको छ ? 
अहिले सिरुमहारानी गर्दैछौं । २ जना निर्देशक छौं, म र सुमित्रा । यो नाटक व्यक्तिगत रूपमा मन पर्ने नाटक हो । हामी मण्डलाको चौथो ब्याच । हाम्रो ब्याचको प्रोडक्सनमा यहीँ नाटक बनेको थियो । त्यो एउटा नोस्टाल्जिक होला । १० वर्ष भएछ यो नाटक गरेको । पहिला अनुप बराल सरले गर्नु भएको रहेछ । लगभाग १२/१३ वर्ष पछि दयाहाङ (दया सर) सरले गर्नु भयो अनुप सरलाई ट्रिब्यूट भनेर । दया सरले हाम्रो ब्याचलाई गराउनु भयो, ठ्याकै १० वर्ष भएछ । हामीले पनि सरहरुलाई ट्रिब्यूट नै दिम न त भन्ने हिसाबले गरिरहेका छौं । अहिले  रियालिष्टिक प्ले, कल्चरल प्लेहरु धेरै आइरहेको छ । अर्को म्युजिकल पनि छ । यो लोक नाटक हो , लोक फर्ममा छ । सरुभक्तले लेख्नु भएको नाटक हो । मिथक पनि छ । संगै यसमा एउटा विद्रोह पनि ।  समाजको संरचना पनि छ । त्यो संरचनामाथि प्रश्न आउँदा कस्तो खालको रिजल्टहरु आउँछ भन्ने कथा छ । माछाको मिथक छ । त्यो माछा सुन्दरी भएको कुराहरु देखि धेरै वटा मिथकहरु मिसाएर राम्रो प्ले लेख्नु भएको छ सरुभक्तले । राम्रो थिएन भने त्यो बेलादेखि लगातार यो नाटक हुँदैन थियो । सबैलाई फरक-फरक हिसाबले आफ्नो डिजाइनमा गर्न मन लाग्दैन थियो । पोखरा थिएटरको ओपनिङ हुँदा सोमनाथ खानाल दाइले निर्देशन गर्नु भएको थियो पोखरा र मण्डला थिएटरसँग मिलेर ।  राम्रो छ साहित्यिक हिसाबले  । सबै हिसाबले बलियो प्ले छ । त्यसैले यो प्ले छानियो । यसमा धेरै जना कलाकारहरु अटाउने ठाउँ छ । 

यो नाटक त तपाईं भन्दा अग्रज कलाकारहरुले गरिसक्नु भएको छ, निकै चर्चा कमाएको नाटक पनि हो , यो नाटक गरिरहदा कति डर अथवा साहसको अनुभूति गर्नुभयो ?
प्रेसर चाहिँ हुँदोरहेछ । अनुप सरले एक हिसाबले डिजाइन गर्नुभयो । दया सरले अर्कै हिसाबले डिजाइन गर्नु भयो । अहिले केही फरक डिजाइन गरौं भनेर सोचिरहेका छौं । त्यो गर्नैपर्ने हुन्छ । किनभने निर्देशकले जहिले पनि आफ्नो भाषा, आफ्नो च्वाइस अथवा आफ्नो दृष्टिकोण  भन्ने हो प्ले मार्फत् ।  कथा र नाटक एउटै भए पनि प्रस्तुति र प्राथमिकताको कुरामा फरक पर्छ । त्यो हिसाबले प्रेसर पनि छ । टेक्स्ट बलियो छ । राम्रो नाटक छ ।  राम्रो नाटकसँग  काम गर्ने ठाउँ वा स्पेस धेरै हुन्छ । त्यो हिसाबले फाइदा पनि छ । प्रेसर चाहिँ अग्रज सिनियरले राम्रो-राम्रो प्ले गरि सक्नु भएको छ ।  त्यो मार्क भेटिन्छ कि भेटिदैन, त्यहाँ सम्म पुग्न सकिन्छ कि सकिदैंन भन्ने हो । यो प्ले लेखिएको लगभग २०-२२ वर्ष भयो । त्यो समय र अहिलेको समय फरक छ । त्यो समयमा सहज मानिएका कुराहरु अहिलेको समयमा सहज नलाग्न सक्छ । त्यो समयमा एकदम अफ्ठ्यारो मानिएका चिज अहिले सहज हुन् सक्छ । राजनीतिक हिसाबले त्यो समयमा सही मानिएका कुराहरु अहिले गलत हुन् सक्छन् । यस्ता केही चुनौतीहरु छ । लेखकले चाहिँ दृस्टिविहीन वृद्ध-वृद्धालाइ प्रयोग गर्नु भएको छ । उहाँहरुले बोल्ने भाषा । अब हाम्रो बुझाइ यति विकास भैसकेको छ की कुनै समुदायको कसैलाई पनि व्यक्तिगत रुपमा हर्ट नगर्ने, गर्नु हुँदैन भन्ने बुझाईमा आइसकेका छौं । त्यो समय र अहिलेको समयमा यस्ता साना साना चुनौतीहरु छ ।

Anup-Neupane-1755919585.jpg

दयाहाङ राईले पनि यो नाटक निर्देशन गरिसक्नु भएको छ, उहाँको भन्दा तपाईंहरूले केही फरक चिजहरु थप्नु भएको छ ? थप्नु भएको छ भने के-के थप्नु भयो ?
दया सरले निर्देशन गर्दाको एउटा कलाकार म पनि हो । एक हिसाब कनेक्ट भइयो । निर्देशकको आ-आफ्नो डिजाइन हुन्छ । आफ्नो दृष्टिकोण हुन्छ । यो प्ले सरले छान्दा सरलाई मनपर्ने  कारण होला ।  मलाई मन पर्ने अर्को कारण होला । सुमित्रालाई मन पर्ने अर्को कारण होला । फरक मान्छेले फरक हिसाबले लिइरहेको हुन्छ ।  एउटा कथा भन्ने कुरा हो । त्यसको प्रस्तुति, डिजाइनहरु फरक हुन्छ । त्यहाँ प्रयोग गर्ने तत्वहरु फरक हुन्छ । एउटै कथाका फरक प्रस्पेक्टिपमा कुन प्रस्पेक्टिप समातेर जाने भन्ने कुरा हो । त्यो भएर टेक्स्ट एउटा कुरा हो । त्यहाँ भित्र पनि छान्ने कुरामा कति टेक्स्टहरु राखिन्छ । कति हट्छ । ठ्याकै त्यस्तो पूर्ण परिवर्तन भन्दा पनि डिजाइन र प्रस्तुतिमा फरक हुन्छ । 

नाटकमा कस्ता कलाकार हुनुहुन्छ ? तपाईंको नाटकमा म्युजिक छ भन्नुभएको छ कस्तो छ ?
मण्डलाको १७औं ब्याच चलिरहेको छ । अनि २ वटा सेक्सन छ जसमा ३३ जना हुनुहुन्छ । ३३ जना नै नाटकमा हुनु हुन्छ । ब्याच प्रोडक्सनको हिसाबले पनि गर्न लागिरहेका छौं । 
यस प्लेको लेखाइनै म्युजिकल छ जस्तो लाग्छ । हामीले पनि म्युजिकमार्फत नै कथा भन्न खोजेका छौं ।  

सिरुमारानीको सन्देश आजको समयसँग कतिको सान्दर्भिक छ ?  दर्शकलाई के देखाउन लाग्नु भएको छ ? अहिलेको समयका दर्शकसँग म्याच गर्छ कि गर्दैन ?
कथा त कहिल्यै पुरानो हुँदैन । कथा इतिहाससँग जोडिन्छ । वर्तमानसँग जोडिन्छ । भविष्यको आशा वा प्रेरणासँग जोडिन्छ । यो चाहिँ अहिलेको समय र समाजसँग सान्दर्भिक हुने कुरा हो । जन्मिदैं, हुर्किदैं गर्दा सबै जना एउटा संरचनामा बाधिएका छौं । त्यो संरचना कहिले काहीँ भ्रमपूर्ण र कमजोर भैसकेको हुन्छ । त्यसमाथि प्रश्न उठाउँदा त्यसले प्रश्नको समाधान गर्ने भन्दा पनि डिफेन्ड गर्ने तिर जान्छ । कहिले काहीँ त्यसको रिजल्ट भयानक भैदिन्छ । अहिलेको संरचना जुन छ त्यसमा महिलाहरुको स्पेस, अनि उहाहँरुको त्यो प्रश्न गर्दा हुने प्रतिक्रिया छ त्यसैलाई हेरौं न । त्यो सबैले देखेका छौं । राजनीतिक रुपमा हेर्ने हो भने संघीय गणतन्त्रमा छौं । एक हिसाबले सुन्दर व्यवस्था छ । तर हामीलाई धम्की कस्तो खालको छ ? हामी कस्तो सँग डराइरहेका छौं ? कसैले मलाई राजा मन पर्छ भन्दा त्यसमा असुरक्षित भै रहेका छौं ।  सामाजिक संजाल, टिक-टक , टेलिग्रामसँग असुरक्षित भैरहेका छौं । व्यवस्था जति बलियो, जति सुन्दर भए पनि त्यो सँग  कति कसरी जोडिरहेका छौं ? कसरी बाधिरहेका छौं ? त्यसलाई कसरी अपग्रेड गरिरहेका छौं भन्ने कुराले फरक पर्छ । सायद त्यहीँको प्रतिबिम्ब कतै भेट्छौ नाटक भित्र । सेटअप अलिकति पुरानो छ तर बेस छ । अहिलेको राजनीतिक परिदृश्यलाई हेर्न सक्छौं । संगै समाजमा चलिआएको चलनहरूलाई पनि हेर्न सक्छौं । 

नयाँ पुस्ताको कलाकारसँग काम गर्न कतिको सहज छ ?  
म पनि धेरै पुरानो होइन । तर एउटा यात्रा हुँदो रहेछ ।  एउटा रुख हुर्किन्छ ।  फूल लाग्छ । फल लाग्छ अनि फेरि सानो बिउ निस्किन्छ । त्यो फेरि माटोमा मिल्छ । अनि फेरि बिस्तारै हुर्किदैं हुर्किदैं रुख बन्छ । त्यो क्रम चलिरहन्छ प्रकृतिमा । सायद त्यहीँ क्रम होला अहिले उहाँहरु भर्खर तालिमबाट निस्किनु भयो ।  एक हिसाबले माझिदैं हुनु हुन्छ । हाम्रो पुस्ता फास्ट खोज्छ ।  उहाँहरुलाई हतार छ । भनेको हामीलाई पनि हतार छ । अघिल्लो पुस्तालाई हेर्दा अहिलेको पुस्ता हतारमा भए जस्तो लाग्छ ।  तर अन्वेषण गर्ने कुरामा अझ धेरै सिकिरहेका छन् । जस्तै हाम्रो पालामा  सरहरुले क्लासमा जे भन्नु हुन्छ त्यो भन्दा अगाडि स्रोत नै थिएन । किताबहरु कहाँ-कहाँ देखि खोज्नु पर्थ्र्यो । किताब र गुरु भन्दा बाहेक अरु स्रोत थिएन । अहिलेको पुस्ताको लागि त यति धेरै स्रोतहरु छ । शिक्षकसँग उहाँहरुले लिने भनेको बुझ्ने भनेको अनुभव मात्र होला । पहिले गुरुहरुले ज्ञान दिनु हुन्थ्यो । अहिलेको गुरुहरुले आफ्नो अनुभव मात्र दिने हो । ज्ञान चाहिँ छ उहाँहरु सँग । त्यो हिसाबले नयाँ पुस्ता झन् स्मार्ट हुँदै आइरहेको छ । ८-१० वर्षलाई हेर्ने हो भने हाम्रो पुस्ता भन्दा अहिलेको पुस्ता झन् स्मार्ट छ । 

पहिलो पटक यो नाटक हेर्ने दर्शकका लागि कुन पक्ष सबैभन्दा प्रभावशाली हुन्छ ?
दामी चीज के छ भने यो प्लेमा धेरै तहहरूमा खेल्नु भएको छ लेखकले । लेखाइ नै शक्तिशाली छ । तपाईं राजनीतिक साइडबाट हेर्नुहुन्छ भने यो कथा राजनीतिक किसिमको छ ।  भावनाको साइडबाट हेर्नु हुन्छ भने यो कथा भावनात्मक हो । जसमा प्रेम कथा छ । बाउ छोरीको कथा छ । २ जना व्यक्तिबीचको सम्बन्धको कथा छ । कलाको हिसाबबाट हेर्नु हुन्छ भने त्यो तत्वहरु पनि धेरै छ । यो खासमा लेखाई नै राम्रो छ । हामी पनि मेहनत गरिरहेका छौं । अहिलेको समय सान्दर्भिक भएर गर्दा म धेरै आशावादी छु । निर्देशक देखि मण्डला र विद्यार्थीहरु पनि आशावादी छौं । यो नाटक साच्चिँकै राम्रो बन्छ् भनेर । 

‘सिरुमारानी’ जस्ता नाटकले समाजमा सचेतना फैलाउन कति भूमिका खेल्छ ? यो सामाजिक परिवर्तनको औजार बन्न सक्छ? 
 कलाको कुनै काम नाटक मात्र होइन । गीत होस् । कृति होस् कुनै पनि कामले समाज परिवर्तन गर्नैपर्छ जस्तो लाग्दैन । गर्छ जस्तो पनि लाग्दैन । कलाले जहिले पनि प्रश्न उठाउने हो । कलाले प्रश्न उठाउँछ त्यसमा उत्तर खोज्ने जिम्मा समयको हो ।  त्यो पुस्ताको हो । त्यत्रो ठूलो सोचेर समाजै परिवर्तन गर्छौं अथवा केही दिनै पर्छ भन्ने हिसाबबाट नाटक गरिरहेका छैनौं । सायद त्यसरी गर्नु हुँदैन पनि । कलाकारको काम भनेको आफ्नो अभिव्यक्ति हो । एउटा चिज व्यक्त गरिरहेका त हौं  । जस्तो तपाईंले भनिरहेको कथा, मैले भनिरहेको कथा , अरु कसैले भनिरहेको कथाले समाजमा प्रभाव पर्नुपर्छ, समाज बदल्नु पर्छ भनेर सोच्नु हुँदैन । तर प्रश्न उठाउने, बुझ्ने कुराहरुमा धेरै चीज भेट्न सक्नु हुन्छ ।

भर्खरै थिएटर सिक्न आउने कलाकारले राम्रो अभिनय गर्नका लागि कुन चाहिँ शैलीमा सुधार गर्नुपर्छ ?
जस्तो नयाँ आउँदै हुनुहुन्छ भने मुख्य कुरा  बुझाइको होला जस्तो लाग्छ । तपाईंलाई के मन लाग्छ ? सबै भन्दा मुख्य कुरा त्यहीँ हो । जस्तो तपाईंलाई म अभिनय गर्छु । अभिनयबाट आफूलाई व्यक्त गर्छु भन्नु हुन्छ भने पनि फाइन । म निर्देशन गर्छु भन्नु हुन्छ भने त्यो पनि फाइन । लेख्छु त्यो पनि फाइन । अथवा व्याक स्टेजमा अरु काम गर्छु भन्नु हुन्छ भने त्यो पनि फाइन । म सेट, कस्टुम, प्रोप्स आदिबाट गर्छु भने धेरै विधाहरु छ । थिएटर भित्र पनि धेरै विधा छन् । तपाईको इच्छा के हो भन्ने कुरा सबै भन्दा महत्वपूर्ण हो । तपाईं के कथा भन्न चाहनु हुन्छ अथवा आफूलाई कसरी प्रस्तुत गर्न चाहनु हुन्छ भन्ने मुख्य कुरा हो । त्यसमा मलाई लाग्ने भनेको तपाईं एकदम खुल्ला हुनुहुन्छ र तपाईसँग एक लेवलको बुझाइ छ, अध्यनशीलता छ भने तपाईंले जे गर्न पनि सक्नु हुन्छ । तर त्यसको लागि लगाब चाहिन्छ ।  
सुधार्ने भन्ने कुरा त अब को गलत हुन्छ त ? थिएटरमा त ‘There is no Right no Wrong “ भनेर नै अभ्यास गरिरहेका हुन्छौ् । न सही न गलत । एउटा परिप्रेक्ष्यको, बुझाइको कुरा हो । तपाईं के चाहानु हुन्छ ? के लिनु हुन्छ ? के बुझ्नु हुन्छ ? कसरी लिनु हुन्छ ? कसरी व्यक्त गर्नु हुन्छ ? भन्ने कुरा हो । 

नाट्य क्षेत्रामा पैसा छैन भन्छन् नि खास कुरा के हो ?
यो अप्ठ्यारो कुरा हो । आउनुस् टन्न पैसा हुन्छ, मज्जाले बाँच्न पुग्छ भन्न पनि सकिदैंन ।  फेरि बाँच्नै सकिदैंन भन्न पनि सकिन्न । आधार देखाउन सकिदैंन । लगभग म ११-१२ वर्ष त पूर्णरुपमा थिएटरमै छु । यहीँ बाचिरहेको छु । मन लागेको कुरा गरिरहेको छु । सायद आफूलाई कति खुल्ला राख्ने भन्ने कुरा हो । म यहीँ मात्र गर्छु भन्नलाई गाह्रो छ ।  एउटै मात्र कामले पुग्दैन । तुलनात्मक रुपमा थिएटरमा आर्थिक रुपमा कम छ । जुन लेभलमा काम गर्छौं, खट्छौ त्यो हिसाबमा पारिश्रमिक कम हुन्छ । तर त्यसको मतलब हुँदै हुँदैन बाच्नै सकिदैंन भन्ने होइन । हामी मात्र होइन हामी भन्दा धेरै अगाडिदेखि धेरै जना थिएटर मात्र गरेर बाँच्नु भएको छ । पछिल्लो समय हो फिल्मतिर जाने ट्रेन्ड आएको । तर एउटा दामी चीज के हो भने तपाई अर्को पेशा व्यवसाय गर्नु हुन्छ भने सजिलो भयो । ढुक्क यो मात्र काम भनेर लाग्दा कहिले काहीँ चुनौतीहरू आउन सक्छ ।  मन नलागेको काम पनि गर्नुपर्ने हुन्छ । अस्तित्वसँग जोडी सकेपछी त्यो पाटो आउँछ ।  कमाउन त पर्यो नि फेरि त्यो हिसाबले कहिले काहीँ प्रेसर हुन सक्छ । 

नाटक निर्देशनमा तपाईंको दृष्टिकोण कस्तो हुन्छ? तपाईंको विचारमा निर्देशकको मूल जिम्मेवारी के हो?
निर्देशकले कथा भन्ने हो । आफू कनेक्ट भएको, रिलेट भएको । कुनै कथामा कहीँ छु जस्तो लाग्छ भने भन्नुपर्छ । कथाको लागि माध्यम त हो नाटक । कसैले फिल्मबाट भन्छन् । कसैले नाटक , कविता, उपन्यासबाट । निर्देशकसँग एउटा चीज भनेको दृश्य तत्वहरु हुन्छ । त्यो एउटा सुन्दर पाटो हो निर्देशक हुनुको । निर्देशकले भन्न चाहेको कथाको आधारमा एउटा संसार बन्छ । सँगै रिस्क पनि छ । सबै कुरा व्यक्तिगत नै हुन्छ जस्तो लाग्छ । कथा भन्दा आफू बाँचेको, छोएको अथवा आफूलाई रिलेट हुने कथाहरुलाई भिजुअलमा परिणत गर्ने हो । त्यहाँ कलाकार पनि पर्यो, गीत संगीत पर्यो, लाइट लिएर सबै कुरालाई टाउकोमा बोकेर भिजनमा निकाल्नुपर्छ ।  त्यो एउटा चुनौती पनि हो । सँगै आशिर्वाद पनि हो । भनेको चाहिँ तपाईं एउटा संसार बनाउन सक्नुहुन्छ । फर्म जुनसुकै होस् फरक हिसाबले फरक खालको संसार बनाउन सक्नु हुन्छ ।  त्यो संसारमा दर्शकलाई हिँडाउन सक्नु हुन्छ । त्यो सुन्दार कुरा हो ।  

फिल्म हेर्न जाने धेरै हुन्छन् तर नाटकमा किन क्रेज कम छ, किन दर्शक थिएटर रोज्दैनन् ?
अवस्था त गार्है छ । खास नाटकै गरेर बाँच्छु भन्नको लागि र बाँच्दा खेरि पनी सकिन्छ भन्ने  विश्वास दिन सक्ने अवस्था छैन । मिडियमको कुरा हो । तपाई संसारको जुनसुकै कुनामा बसेर फिल्म हेर्न सक्नु हुन्छ । तर थिएटरमा तपाई स्वयंम उपस्थित हुनुपर्छ । तपाईंको समयमा होइन कि नाटक कुन समयमा हुन्छ भनेर आउनुपर्छ । त्यो हिसाबले फिल्मको रेन्ज अथवा रिच बढी छ । पछिल्लो समय ट्रायल त भैरहेको छ डिजिटललाइज गर्ने  देखि  प्रचार गर्ने कुरामा ।  मलाई पनि लाग्छ मार्केटिङ तथा  प्रचार गर्ने कुरामा अझै कमजोर भैरहेका छौं । सबै भन्दा महत्वपूर्ण कुरा चेतना र बुझाई रहेछ । 
हाम्रो देशको केन्द्रीय राजनीति हेर्नु हुन्छ भने बुझाई त्यहाँ पनि छैन । त्यहीँ चिज नै प्रतिबिम्बित हुदो रहेछ । यी सबै चीजहरु गन्जागोल छ । सिस्टमको हिसाबले पनि सबै गन्जागोल भैसके पछि मान्छेले त्यहीँ मिलाउने क्रममा आफ्नो हरेक दिन गुजारी रहेको हुन्छ । उ स्वतन्त्र भएर कलाको कुरा बुझ्नेमा लगाब कम हुँदोरहेछ । राजनीतिक हिसाबले आनन्दको आवस्था हुने हो भने धेरै मान्छेहरु थिएटर आउन सक्थे । 

अर्को कुरा सरकारको तर्फबाट अपेक्षा गरेको जस्तो छै न नि थिएटर फिल्मलाई । धेरै जना सहभागी हुन्छ ठूलो माससम्म पुग्छ भन्ने हिसाबले बाहिर देखिरहेको हो । तर कलाको कुन चाहिँ विधालाई देशले सम्मान गरेको छ  ? लगानी गर्ने कुरा धेरै परको हो ।  त्यसलाई रिस्पोन्स पनि गर्दिदैंनन् ।  थिएटर सबै निजी क्षेत्रबाट चलाईरहनु भएको छ । सबैको आफ्नै लागानी । जतिन्जेल सम्म एउटा टिम, व्यक्ति वा प्राइभेट सेक्टरबाट धान्न सकिन्छ त्यतिन्जेलसम्म थिएटर चल्छ । नसकेपछि बन्द हुन्छ । कतिवटा थिएटरहरुमा राम्रो सँग नाटक भैरहँदा पनि एउटा समयमा गएर बन्द हुनु परेको अवस्था छ । त्यो हिसाबले सरकार त् निरिह छ । 
 
अन्तमा, 'सिरुमारानी' हेर्न आउने नयाँ दर्शकका लागि तपाईंको सन्देश के हो?
यो नाटक भदौको ११ गते देखि सुरु हुन्छ मण्डला थिएटरमा । तपाईं सबै जनालाई आउनुहोला । तपाईंले रेगुलर हेरिरहेको भन्दा फरक स्वादको हुन् सक्छ । पछिल्लो समयको लागि  राम्रो र सुन्दर नाटक छ । राम्रो थिएन भने त्यो समय देखि अहिलेसम्म जिउँदो हुँदैन थियो । एउटा कृति ३ वटा पुस्ता सम्मपनि उतिकै सान्दर्भिक छ भने पछि केही खास छ । त्यो हिसाबले तपाईंहरु सबैलाई नाटक हेर्न आउनु भन्छु । टिकटको कुरा गर्दा विद्यार्थीका लागि ३००  र अन्यका लागि ५०० छ । पछिल्लो अन्तिम हप्ताहरूमा चाहिँ विद्यार्थी ५०० र अन्यका लागि १००० तोकिएको छ । तर तपाईंहरु आगाडि आउनु भयो भने छुट पाउनुहुन्छ । मज्जाको नाटक हुन्छ । ३२-३३ जना हुनु हुन्छ कलाकारहरु । स्टेजमा लाइभ म्युजिक देखि सबै छ । हामी एउटा सुन्दर प्ले बनाउन कोसिस गरिरहेका छौं । पक्कै तपाईंहरुलाई मन पर्छ भन्ने विश्वास छ ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  ०९:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update