Harsamaya
 सिन्धुपाल्चोक –२ का उम्मेदवार बंशलाल तामाङको दाबी - सिंहदरबार सफा गर्न कांग्रेसलाई जिताउनुपर्छ 
नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार बंशलाल तामाङ ।

काठमाडौं - नेपाली कांग्रेसका तर्फबाट सिन्धुपाल्चोक क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा उम्मेदवार बंशलाल तामाङले सिंहदरबारको अवस्थाले नै देशको भविष्य निर्धारण गरिरहेको बताएका छन्। सिंहदरबार नबदलिँदासम्म जनताको अवस्था नबदलिने उनको भनाइ छ।

राजधानीमा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिले आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै तामाङले देशमा देखिएका अधिकांश समस्या केन्द्रकै कमजोर कार्यशैलीका कारण उत्पन्न भएको उल्लेख गरे।

२०७४ सालमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भई जनताको सेवा गरेको अनुभव सुनाउँदै तामाङले स्थानीय तहमा काम गर्दा हासिल गरेको अनुभव, उत्साह र सिकाइलाई अब संसदीय यात्रामा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

‘हामीले व्यवस्था त बदल्यौं, तर जनताको अवस्था बदल्न सकेनौं,’ तामाङले भने, ‘समस्या तपाईं–हामीमा होइन, समस्या सिंहदरबारमै छ। देशको व्यवस्था बदलियो, तर सिंहदरबारको अवस्था बदलिएन।’

उनले अहिलेको अवस्थामा युवाहरू स्वदेशमै भविष्य नदेखेर विदेशिन बाध्य भएको उल्लेख गर्दै गलत कार्यशैली, बेथिति र कमजोर सुशासनका कारण देश संकटतर्फ धकेलिएको बताए।

सिंहदरबार ‘फोहोर’ भएको टिप्पणी गर्दै तामाङले त्यसलाई सफा गर्न बलियो राजनीतिक इच्छाशक्ति आवश्यक रहेको बताए। ‘सिंहदरबारको फोहोर पन्छाउन नेपाली कांग्रेसलाई जिताउनु आजको आवश्यकता हो,’ उनले जोड दिए।

तामाङले सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसलाई विजयी गराएर सुशासन, विकास र जनताको भरोसा पुनःस्थापित गर्न सबैलाई आग्रह गरे।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update