Harsamaya

सिता देवी तिमल्सिना नेपाली टेलिभिजन र रंगमञ्चको एक परिचित र आत्मीय नाम। बाल्यकालमा टेलिभिजनमा कोमल ओलीको समाचार हेर्दै ‘कहिले म पनि टेलिभिजनमा देखिउँला?’ भन्ने सपना देखेकी सिता आज नेपाली अभिनयको उचाइ नाप्दै छिन् । 

उनले चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा)सँग विवाह गरिन्। कलंकीमा पसल चलाएर जिविकोपार्जन गरिरहेकी सिताले सडक विस्तारसँगै कठिन मोडहरू भोग्नुपर्यो । उनको पसल सडकमा पर्यो र रोजीरोटी गर्ने पेसा खोसियो । अब, के गर्ने त ? उनी निराश भइन् । भन्छन् नि जहाँ अन्त्य त्यहीँबाट सुरुवात भनेझैं पसलको यात्रा टुंगिएपछि उनको जीवनले नयाँ मोड लियो । उनले आफैंभित्र रहेको अभिनय गर्ने चाहनाहरूलाई नियालिन् । श्रीमानसँग आफ्ना इच्छाहरू व्यक्त गरिन् । 

श्रीमानको प्रेरणा र आफ्नै साहसले ‘जुरेली’ टेलिश्रृंखलाबाट अभिनय यात्रा सुरु गरिन् । अहिले उनले ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘भद्रगोल’, र पछिल्लो समयको चर्चित सिरियल ‘सक्किगोनी’ मा प्रभावशाली भूमिका निर्वाह गरेकी छन्। खासगरी  ‘सक्किगोनी’ मा उनले निभाएको ‘चन्द्रमुखी’ पात्रले दर्शकको मनमा अमिट छाप छोड्यो।

सिनेमा जगतमा समेत आफ्नो उपस्थिति जनाइसकेकी उनले ‘सानो संसार’ चलचित्रमार्फत ठूलो पर्दामा आफ्नो पाइला अघि बढाइन् । जहाँ उनले सफलता नै सफलता पाइन् । अभिनयलाई नै जीवन मान्ने सिता अहिले नाटकमा व्यस्त छिन् । उनी आफ्नो तेस्रो नाटक ‘चन्द्रलाई कस्ले मार्यो?’ मा चन्द्रको आमाको भूमिकासँगै रंगमञ्चमा फर्किएकी छिन्। यो नाटक सन्दिप श्रेष्ठको लेखन, परिकल्पना र निर्देशनमा मण्डला थिएटर, थापागाउँमा मञ्चन हुँदैछ।

उनको जीवन, संघर्ष र अभिनय यात्रा केवल एक कलाकारको कथा होइन, यो नेपाली रंगमञ्चमा जीवन अर्पण गरेकी एक नारीको अविस्मरणीय योगदान हो। अहिले उनी थिएटरप्रेमीहरूको लागि प्रेरणाको स्रोत बनेकी छन्। उनै सितासँग उनका जीवनका उतारचढाव र संघर्षहरूबारे हर समयले गरेको कुराकानी ।

अभिनय क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? कुन मोडले तपाईंलाई यो क्षेत्रमा आउन प्रेरित गर्यो ?
बच्चा बेलादेखि अभिनयको रहर थियो। कोमल ओली दिदीले समाचार भनेको हेर्थे। कसरी म पनि टेलिभिजनमा आउने होला भन्ने थियो । फिल्ममा आउने भन्ने चाहिँ थिएन। रहर थियो त्यहाँ पुगिन्छ भन्ने आशा थिएन। त्यो समय बित्दै जाँदा केदार सरसँग विवाह भयो। केदार सर यो क्षेत्रमा लाग्नुभयो। म चाहिँ कंलकीमा पसल गरिरहेको थिएँ । २ पटक रोड बढाउँदा पसल नै सिद्धियो । अब मैले एक्लै के गर्ने ? उहाँ कला क्षेत्रमा लागेपछि मेरो पनि रहर थियो। मैले उहाँसँग अभिनय गर्ने रहर भएको बताए। के छ गर्नलाई कसरी मिल्छ? भन्ने हाम्रो श्रीमान श्रीमतीबीच कुरा भइरहेको थियो। ठीक छ तिम्रो इच्छा छ भने गर न भन्नु भयो । १-२ भाग मेरी बास्सैमा कोसिस गरेर। जुरेली भन्ने सिरियल गरे। त्यसमा मलाई अभिनय नपुगेको भन्ने लाग्यो। मलाई आफैँलाई फिल भयो । केदार सरले पनि तिमीले अलि सिक्नैपर्छ भन्नुभयो। त्यसपछि अनुप बराल सरसँग अभिनय क्लास लिए । अब बिस्तारै यही क्षेत्रमै हराइरहेको छु । यतै अलमलिरहेको छु । 

Sita-Devi-Timalsina-1-1751869918.jpg
चर्चित सिरियलदेखि फिल्ममासमेत अभिनय गरिसक्नु भएको तपाईं किन आउनु भएको नाटकमा ? के कुराले प्रेरित गर्यो ?
यो रंगमञ्‍च हो। फिल्म गर्नु वा नाटक गर्नु कलाकारको धर्म हो। यो सबै कलाकारले गर्नु पर्ने नै हो । हाम्रो काम हो ।अभिनयमा निखारता ल्याउनको लागि नाटकले बढी ‘सपोर्ट’ गर्दोरहेछ। त्यो कारणले मलाई नाटक हेर्न नि मन पर्छ। गर्न नि मन पर्छ। त्यो संयोग ठ्याकै मिल्यो त्यही भएर अहिले नाटक गरेको ।

‘चन्द्रलाई कसले मार्यो?’ नाटकमा तपाईंको भूमिका कस्तो छ? दर्शकहरूले तपाईंलाई कुन स्वरूपमा देख्न पाउँछन्?
यो नाटक तेस्रोलिंगीको कथावस्तुमा आधारित छ। अब त्यसमा पनि धेरैथरी हुँदोरहेछ । म अलिअली बुझ्दै छु । नाटकमा म चन्द्रको आमाको भूमिका गरिरहेको छु । 

नाटकको कथावस्तु र त्यसले दिएको सन्देश तपाईंलाई कत्तिको सान्दर्भिक लाग्यो?
एकदमै छ, किन भने तेस्रोलिंगीहरूले पनि अधिकार पाउनुपर्यो। देश, समाज, परिवार सबैबाट अधिकार पाउनुपर्यो । उहाँहरुले जानेर भएको होइन नि। उहाँहरूलाई सपोर्ट गर्नुपर्छ। यो नाटक हेरिसकेपछि तेस्रोलिंगीहरूलाई अपमान गर्नुभएको छ भने पनि गर्न नहुने रहेछ भन्ने फिल हुन्छ। हामीले केही नराम्रो गर्दिदा उहाँहरुलाई असर पर्छ भन्ने थाहा पाउनु हुन्छ । 

नाटकको तयारीका लागि तपाईंले कति समय दिनुभयो अनि कति मेहनत गर्नुभयो ? फिल्म सिरियल भन्दा कतिको गाह्रो रहेछ ?
गाह्रो त होइन। तर, म अलि ढिला जोइन भए। उहाँहरूले झन्डै एक महिना जस्तो ‘रिहर्सल’ गरिसक्नु भएको थियो । बीचमा एक जना साथीले समस्याका कारणले नाटक छोडेपछि त्यसमा म ‘रिप्लेस’ भए।‘फिजिकल’ रूपमा मलाई गाह्रो छ। किन भने मेरो बडी ‘मुभमेन्ट’ उहाँहरूको जस्तो मेरो छैन। एक त उहाँहरुले नाटक गरिरहनु भएको छ।अर्को उहाँहरुको ‘प्राक्टिस’ लगभग पुगिसक्यो। म चाहिँ सुरुवातमै छु। उहाँहरुले एकदम ‘सपोर्ट’ गरिरहनु भएको छ। सजिलो भएको छ।

चन्द्र लाई कसले मार्योमा रहेका कलाकारहरूमा तपाईं ‘सिनियर’ हुनुहुन्छ, अरु सबै नयाँ पुस्ताका हुनुहुन्छ, उहाँहरूसँगको सहकार्य कस्तो रह्यो?
‘सिनियर’ पनि नभनौं । मैले अभिनय अलि अगाडिदेखी सुरु गर्या होला। एकदमै ‘सपोर्टिभ’ हुनुहुन्छ । साथीभाइ जस्तो हामी त एउटै परिवार जस्तो छौं। उहाँहरुले त्यस्तो ‘सिनियर जुनियर’ भनेर फरक गर्नु भएको छैन। म पनि उहाँहरूकै उमेरमा आफूलाई ल्याउन कोसिस गरिरहेको छु । त्यो कारणले गर्दा एकदम सहज भइरहेको छ ।

निर्देशक सन्दीप श्रेष्ठसँगको सहकार्य कस्तो भयो ? केही नयाँ कुरा सिक्न पाउनुभयो ?
धेरै कुरा सिके। उहाँहरुले नाटक गर्ने तरिकाहरू। त्यहाँको कोरियोग्राफीहरू। नाटकको भित्र धेरै कुराहरू हुँदोरहेछ। त्यो धेरै कुराहरू सिकिरहेको छु। सिक्दै जानेछु।

लामो समयपछि तपाईं रंगमञ्चमा फर्कनुभयो - अनुभव कस्तो रह्यो? साथीभाइबाट कस्तो प्रतिक्रिया पाउनुभयो ?
मान्छेको ‘रियाक्सन’सँग म सरोकार नै राख्दिन। किन भने मैले गर्नुछ। कलाकारिता निखार्नु छ। मलाई कसले के भन्ला भन्ने नै छैन। तर साथीहरूलाई मैले कुरा गर्दा तपाईंले राम्रो गर्नु भयो, ठीक छ भाउजू गर्नुस् भन्नु हुन्छ। धेरै जनाले ‘सपोर्ट’ गर्नुभएको छ ।

तपाईंको विचारमा ‘सफल अभिनय’ भन्नाले के बुझिन्छ ? तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ कि तपाईंले आफ्नो भूमिकालाई न्याय गर्नुभयो?
‘सफल अभिनय’ जुन हामीलाई दिएको हुन्छ त्यस भूमिकालाई निभाउन हो । पूर्ण रूपमा निभाउन सक्छौं कि सक्दैनौं ? सक्यौं भने त्यही नै राम्रो होला अथवा सफल होला। समाजमा घटेका घटनाहरूलाई कसले कसरी प्रस्तुत गर्छ त्यही नै हो। मैले चाहिँ यो नाटकमा मौसमी (चन्द्रको आमा)को रोल गरेको छु। मलाई साँच्चै चन्द्रकै ममी जस्तो लाग्यो भने मैले राम्रै गरे होला जस्तो लाग्छ। अहिले ‘रिहर्सल’ नै चलिरहेको छ ।

नाटक, टेलिश्रृंखला र चलचित्र - यीमध्ये तपाईंलाई कुनमा काम गर्दा बढी चुनौतीपूर्ण लाग्छ? किन ?
चुनौती सबैमा छ। किनभने हामीले गरेको कामलाई राम्रो दिन प्रयास गर्ने हो । राम्रो दिनुपर्छ भन्ने नै हो। गर्न खोजेको कुरा राम्रो दिन सक्यौं भने त्यही नै सफलता हो। चुनौती पनि केलाई भनौं खोइ । यो त हामीले रहरले गरेको हो, गर्नु पर्छ भनेर गरेको हो । मलाई त खुसी लाग्छ । 

फिल्मतिर अलि बढी पारिश्रमिक हुन्छ नाटक भन्दा। सिरियल, फिल्ममा काम गर्नु भएको भए धेरै आम्दानी हुन्थ्यो होला घाटा भएन ?
पारिश्रमिक भन्दा पनि आफूलाई निखारता ल्याउनुछ । अभिनयमा निखारता ल्याउनु छ । यो बीचमा मेरो खाली समय थियो मैले नाटक गरे । अघिपछि पनि खाली भएको बेला नाटक गर्ने समय नभएपनि हेर्न आउँछु । धेरै नाटकहरू हेरेको छु । पैसाको हिसाब नगरी नाटक गर्नुपर्छ भन्ने हो । त्यही भएर गरेको ।

काम गर्दै जाँदा तपाईंले बिर्सनै नसकेको कुनै मीठा वा तिता अनुभव भए बताइ दिनुस्‍न।
धेरै हुन्छ काम गर्दा । रमाइलो पनि हुन्छ । जस्तो सानो संसारमा हामीले लगातार ६ रात शुटिङ गरेको थियौँ । रातभर शुटिङ गर्यो, निन्द्रा लाग्छ झुम्म हुन्छ अनि कफीसफी मज्जाले खायो । घर गएर सुत्न खोज्यो आफूलाई आँखै लाग्दैन।आँखा झिमिक्क नै हुँदैन।अनि फेरी नसुती फिर्ता आयो । जब बेलुका हुन्छ फेरि निन्द्रा लाग्छ त्यही कफी खायो । त्यति बेला मलाई ‘मेन्टल्ली’  गाह्रो भयो । शरीरलाई एकदम थकान भए जस्तो भयो । त्यो चाहिँ बिर्सन सकिन्न । ६ दिन ६ रात पुरा शुटिङ हुँदा एकदम गाह्रो भएको थियो ।

Sita-Devi-Timalsina-2-1751869917.jpg
नेपाली नाटक र टेलिश्रृंखलामा सुधार गर्नुपर्ने पक्षहरू के-के देख्नुभएको छ?
आर्थिक रूपमा खर्च जुटाउन गाह्रो छ । सिरियलतिर त ठिकठिकै छ । नाटकमा अलि गाह्रो छ । नाटकमा ‘फिजकल्ली’ धेरै काम गर्नुपर्छ । पारिश्रमिक अलिकति भइदिए अथवा त्यो हुने माहोल भए हुने। त्यो हुनलाई पनि धेरै कुराहरू चाहियो। अब कहाँ बाट ल्याउने ? दर्शकहरूलाई थिएटरसम्म ल्याउन सकियो भने त उसै हुन्छ । त्यो नभएको कारणले नै कम भएको होला । नेपाली दर्शकहरूलाई थिएटरमा ल्याउने बानी गराउन सकियो भने, माहोल बनाउन सकियो भने पक्कै राम्रो हुन्छ । 

केदार घिमिरे (मग्ने बुढा)ले तपाईंको अभिनय यात्रामा कतिको साथ दिनुभएको छ?
एकदमै। उहाँबिना त म अधुरो-अपूरो नै हुन्छु । हरेक कुराहरूमा सपोर्ट गर्नुहुन्छ ।  म पनि एउटा गृहिणी हो । कलाकार हो अभिनय गरेपनि पारिवारिक माहौल पनि छ। घरमा अर्को संसार छ। त्यसलाई पनि सम्हाल्न पर्छ नि। त्यो सम्हालेर यता आउनुपर्छ । एक जनाले त सम्हालिँदैन । त्यसको लागि उहाँको हरपल साथ त छँदैछ । 

पर्दामा परिवारको ३ जना मात्र देखिनु भएको छ ? छोरीलाई किन लुकाउनु भएको ?
हामीलाई कसैले बाध्यताले ल्याएको होइन। केदार सर लाग्नु भयो उहाँको रहर थियो । मेरो थियो त्यो समय संञ्जोग मिल्यो म आए । फेरि छोरो पनि ब्याचलर आइटी पढ्दै थियो। पढिसकेपछि उसलाई पनि कलाकारिताको भूत जाग्यो । फेरि उ आयो । तर, नानीले चाहना देखाएको छैन । चाहना नदेखाएपछि हामीले ल्याउने कुरा पनि होइन । बच्चाहरूले चाहे गर्ने हो । उनीहरूले जे चाहन्छन् त्यही गर भनेर छोडदिएको हो । बाबुले नि आइटी पढिरहेको थियो । उसले मलाई कलाकारिता गर्न मन लाग्यो अलि समय भन्यो । ल ठीक छ तिम्रो रहर पुरा गर भनेर छोडदियौं 

नयाँ-नयाँ कलाकारहरू नाटक सिक्न आइरहनु भएको छ, कलाकारिता क्षेत्रमा आफ्नो पकड बनाउन के कस्ता रणनीतिहरू अपनाउनु पर्छ ? कसरी आफूलाई निखार्ने ?
नाटक सिकी रहनुभएको छ। थिएटरमा नाटक गरिरहनु भएको छ भने धेरै कुरा हुन्छ । जस्तो साथीभाइसँग बोल्ने देखि लिएर मिडियामा बोल्ने कुरा सिक्न पर्ने हुँदोरहेछ । म पनि सिक्दै छु । कति कुरा मैले नै सिक्न बाँकी छ । केही भर्खरै थाहा पाउँदै छु । संघर्ष र चुनौती एकदम छ । कसले कसलाई जित्ने अथवा कसको भन्ने प्रतिस्पर्धा नै छ । त्यसमा अब आफूलाई कसरी सहज रूपमा अगाडि बढाउने । अरूलाई पनि सहज गराइदिनु पर्यो र आफूलाई पनि । हामीले अरूलाई सहज बनाइ दियौं भने हामीलाई पनि सहज हुन्छ ।

अन्त्यमा, यो नाटक दर्शकहरूले किन हेर्ने ? केही सन्देश दिन चाहनुहुन्छ?
विशेष यो निर्देशक साबलाई सोध्नु भाको भए राम्रो हुन्थ्यो । हामीलाई थाहा नहुँदा नहुँदै मान्छेहरूको ‘इमोसन्स’ फरक हुँदोरहेछ । जस्तो हामीलाई महिला पुरुष मात्र थाहा थियो। उहाँहरू देख्दा पुरुष तर ‘इमोसन्स’ फरक हुँदो रहेछ। जस्तो केटीप्रति आकर्षित नहुने पनि हुँदो रहेछ । कोही केटा-केटा आकर्षित हुने । कोही केटी-केटी आकर्षित हुने । त्यो कुराहरू हामीलाई थाहा हुँदैन । उहाँहरू पीडित भैसक्दा पनि त्यो कुरा थाहा हुँदैन । उहाँहरू खुल्न नसकेको कारणले अथवा खुल्ने वातावरण नभएको कारणले गाह्रो हुँदो रहेछ । यो सहज गराइदिनु पर्छ । उहाँहरूलाई खुल्नलाई सहज हुने वातावरण हामीले पनि गराइदिनु पर्छ । 

नाटक कहिलेबाट प्रदर्शन हुँदैछ ?
असार २५ गतेदेखि साउन १८ गतेसम्म नाटक देखाइनेछ। हरेक साँझ ५:३० बजे, शनिबार १:१५ बजे दिउँसो र साँझ ५:३० बजे (सोमबार बाहेक) चल्ने छ। आइदिनुहोला, हेर्दिनुहोला, आफूलाई मनमा लागेका कुराहरू भन्दिनु होला । 

निर्देशक सन्दिप श्रेष्ठसँग काम गर्दा कस्तो अनुभव रह्यो ? काम गर्न कतिको सहज भयो ?
उहाँ त मलाई एकदम ‘माइ डियर’ लाग्यो । ममी भन्नुहुन्छ । मलाई आफ्नै छोराकै फिल आउँछ। उहाँले पनि मलाई ममी जस्तै ‘ट्रिट गर्नु हुन्छ। आफ्नै ममी जस्तो गर्नुहुन्छ। सजिलो हुनु हुँदोरहेछ काम गर्नलाई। सबैलाई समानता। डाइरेक्टर जस्तो गर्नुहुन्न, त्यो देखिँदैन । साथीभाइ जस्तो सबैसँग मिल्ने। उहाँ क्वियर कम्युनिटिको हुनुहुँदो रहेछ। र यो स्टोरी पनि उहाँले नै भोगेका कथा , व्यथा अलि धेरै समेटिएको जस्तो बुझिरहेको छु। सजिलो र सहज भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update