
सिता देवी तिमल्सिना नेपाली टेलिभिजन र रंगमञ्चको एक परिचित र आत्मीय नाम हो। बाल्यकालमा टेलिभिजनमा कोमल ओलीको समाचार हेर्दै ‘कहिले म पनि टेलिभिजनमा देखिउँला?’ भन्ने सपना देखेकी सितादेवीले नेपाली कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी छिन् । श्रीमानको प्रेरणा र आफ्नै साहसले ‘जुरेली’ टेलिश्रृंखलाबाट अभिनय यात्रा सुरु गरेकी उनले ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘भद्रगोल’ र पछिल्लो समयको चर्चित सिरियल ‘सक्किगोनी’ मा प्रभावशाली भूमिका निर्वाह गरेकी छन्। खासगरी ‘सक्किगोनी’ मा उनले निभाएको ‘चन्द्रमुखी’ पात्रले दर्शकको मनमा अमिट छाप छोड्यो।
सिनेमा जगतमा समेत आफ्नो उपस्थिति जनाइसकेकी उनले ‘सानो संसार’ चलचित्रमार्फत ठूलो पर्दामा पाइला राखेर सफल भएकी छिन्। उनी आफ्नो तेस्रो नाटक ‘चन्द्रलाई कस्ले मार्यो?’ मा चन्द्रको आमाको भूमिकासँगै रंगमञ्चमा फर्किएकी छिन्। यो नाटक सन्दिप श्रेष्ठको लेखन, परिकल्पना र निर्देशनमा मण्डला थिएटर, थापागाउँमा मञ्चन भइरहेको छ । उनै सितासँग उनका जीवनका उतारचढाव र संघर्षहरूबारे हर समयले राखेको तीन प्रश्न ।
चर्चित सिरियलदेखि फिल्ममासमेत अभिनय गरिसक्नु भएको तपाईं किन नाटकमा आउनुभयो?
यो रंगमञ्च हो। फिल्म गर्नु वा नाटक गर्नु कलाकारको धर्म हो। यो सबै कलाकारले गर्नु पर्ने नै हो । हाम्रो काम हो ।अभिनयमा निखारता ल्याउनको लागि नाटकले बढी ‘सपोर्ट’ गर्दोरहेछ। त्यो कारणले मलाई नाटक हेर्न नि मन पर्छ। गर्न नि मन पर्छ। त्यो संयोग ठ्याकै मिल्यो त्यही भएर अहिले नाटक गरेको ।
केदार घिमिरे (माग्ने बुढा)ले तपाईंको अभिनय यात्रामा कतिको साथ दिनुभएको छ?
एकदमै। उहाँबिना त म अधुरो-अपूरो नै हुन्छु । हरेक कुराहरूमा सपोर्ट गर्नुहुन्छ । म पनि एउटा गृहिणी हो । कलाकार हो अभिनय गरेपनि पारिवारिक माहौल पनि छ। घरमा अर्को संसार छ। त्यसलाई पनि सम्हाल्न पर्छ नि। त्यो सम्हालेर यता आउनुपर्छ । एक जनाले त सम्हालिँदैन । त्यसको लागि उहाँको हरपल साथ त छँदैछ ।
पर्दामा परिवारको ३ जना मात्र देखिनु भएको छ ? छोरीलाई किन लुकाउनु भएको ?
हामीलाई कसैले बाध्यताले ल्याएको होइन। केदार सर लाग्नु भयो उहाँको रहर थियो । मेरो थियो त्यो समय संञ्जोग मिल्यो म आए । फेरि छोरो पनि ब्याचलर आइटी पढ्दै थियो। पढिसकेपछि उसलाई पनि कलाकारिताको भूत जाग्यो । फेरि उ आयो । तर, नानीले चाहना देखाएको छैन । चाहना नदेखाएपछि हामीले ल्याउने कुरा पनि होइन । बच्चाहरूले चाहे गर्ने हो । उनीहरूले जे चाहन्छन् त्यही गर भनेर छोडदिएको हो । बाबुले नि आइटी पढिरहेको थियो । उसले मलाई कलाकारिता गर्न मन लाग्यो अलि समय भन्यो । ल ठीक छ तिम्रो रहर पुरा गर भनेर छोडदियौं ।