Harsamaya

काठमाडौं - नेपाली साहित्यका विशिष्ट आख्यानकार रमेश विकलको कथा ‘लाहुरी भैंसी’ यतिबेला मञ्चमा जीवन्त बनेर दर्शकमाझ पुगेको छ । कथाकार विकलको चर्चित कथासङ्ग्रह ‘नयाँ सडकको गीत’ मा समेटिएको कथामाथि आधारित यस नाटकले समाजमा गहिरो गरी जरा गाडेको वर्गीय विभेद, शोषण र शक्तिको असमान सम्बन्धलाई प्रभावकारी ढंगले उजागर गरेको छ ।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकले सीमान्तकृत समुदायका लुखुरे र उनको परिवारले एउटा भैंसी किन्न गरेको संघर्षलाई केन्द्रमा राख्छ । सामान्य देखिने यही घटनाले गाउँको शक्ति संरचना कसरी हल्लिन्छ, कसरी टाठाबाठा र सामन्ती मानसिकताले निमुखामाथि भ्रम, अफवाह र त्रासको खेती गर्छन् भन्ने विषयलाई नाटकले मार्मिक ढंगले प्रस्तुत गरेको छ ।

समय र परिवेश फेरिए पनि समाजमा रहेको शक्ति र शक्तिहीनबीचको दूरी अझै उस्तै रहेको यथार्थलाई नाटकले दर्शकसामु राख्छ । कथाको पृष्ठभूमि पुरानो भए पनि त्यसले उठाएको प्रश्न आजको समाजमा पनि उत्तिकै सान्दर्भिक देखिन्छ । दमनका स्वरूप फेरिए पनि कमजोर वर्गमाथिको अन्याय र विभेद भने विभिन्न रूपमै कायम रहेको सन्देश नाटकले दिन्छ ।

मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘लाहुरी भैँसी’ मा ‘द्वारे बा’को भूमिका निर्वाह गरिरहेका कलाकार मोहन भण्डारीले यो पात्र निभाउन पाउँदा आफू निकै उत्साहित भएको बताएका छन्। २०१६/१७ सालतिरको सामाजिक परिवेशमा आधारित कथाले तत्कालीन समाजको यथार्थ झल्काउने भएकाले भूमिकाप्रति विशेष आकर्षण रहेको उनको भनाइ छ।

टेलिभिजन सिरियलमार्फत दर्शकमाझ परिचित भइसकेका भण्डारीले थिएटर कलाकारिताको आधारभूमि भएकाले रंगमञ्चमा फर्किनु स्वाभाविक रहेको बताए। उनका अनुसार सिरियल र चलचित्रको आफ्नै महत्व भए पनि कलाकारलाई खार्ने र स्थापित गराउने मुख्य माध्यम थिएटर नै हो ।

हाल मञ्चन भइरहेको ‘लाहुरी भैँसी’ ले करिब पाँच दशकअघिको नेपाली समाज, सामन्ती सोच र गाउँघरको शक्ति संरचनालाई उजागर गर्ने भएकाले नयाँ पुस्ताले अनिवार्य रूपमा हेर्नुपर्ने उनको धारणा छ। “आजको पुस्ताले त्यो समयको समाज देखेको छैन। इतिहास बुझ्न र विगतको यथार्थ जान्न नाटकले महत्वपूर्ण भूमिका खेल्न सक्छ,” उनले भने।

Lahuri-Bhaisi-1780842121.jpg
नयाँ बसपार्क, गंगबुका कपिल बिमालीले मण्डला थिएटरमा मञ्चन भइरहेको ‘लाहुरी भैँसी’ नाटक अपेक्षाभन्दा धेरै राम्रो लागेको बताएका छन् । नाटकको विज्ञापन देखेर हेर्न पुगेका उनले आफूले सोचेकोभन्दा उत्कृष्ट प्रस्तुति पाएको प्रतिक्रिया दिए। कथा छोटो र सरल ढंगले प्रस्तुत गरिएकाले बुझ्न सहज भएको उनको भनाइ छ ।

उनले नाटकको अन्त्यतिर भैँसीसँग जोडिएको प्रसंगलाई केही रहस्यमय शैलीमा प्रस्तुत गरिएकाले दर्शकहरू केहीबेर अलमलमा परेको बताए। तर समग्रमा नाटकले विगतको सामाजिक यथार्थ प्रभावकारी रूपमा देखाएको उनको मूल्यांकन छ।  विशेषगरी साहु–महाजनहरूले गरिब तथा कमजोर वर्गमाथि गर्ने शोषण र अन्यायलाई नाटकले सशक्त ढंगले चित्रण गरेको भन्दै बिमालीले उक्त पक्ष आफूलाई निकै मन परेको बताए ।

यस्तै, पहिलो पटक मण्डला थिएटर पुगेकी दर्शक कोरिन बिमालीले ‘लाहुरी भैँसी’ नाटकले आफ्नो अपेक्षा पूरा गरेको बताएकी छन् ।

उनका अनुसार नाटक हेर्नुअघि धेरै अपेक्षा राखेकी थिइन् र प्रस्तुति त्यसअनुरूप प्रभावशाली लागेको छ। नाटकले समाजमा गरिब तथा कमजोर वर्गमाथि हुने अन्याय र शोषणको विषयलाई सशक्त रूपमा उठान गरेको उनको भनाइ छ ।

नाटकमा प्रस्तुत गरिएको सस्पेन्सले आफूलाई विशेष रूपमा आकर्षित गरेको बताउँदै बिमालीले अन्त्यलाई खुला रूपमा छाडिएकाले नाटक सकिएपछि पनि दर्शकहरू ‘अब के होला ?’ भन्ने सोचमा रहने वातावरण सिर्जना गरेको उल्लेख गरिन् ।

उनले कलाकारहरूको अभिनयको समेत खुलेर प्रशंसा गर्दै सबै पात्रले आफ्नो भूमिकालाई जीवन्त बनाएको बताइन् । कलाकारहरूको भाव, समन्वय र प्रस्तुतीकरण यति प्रभावकारी रहेको उनको अनुभव छ कि त्यसले दर्शकलाई पनि भावनात्मक रूपमा जोड्न सफल भएको थियो ।

“नाटक हेर्दा दर्शकहरू हाँसे, भावुक भए र कतिपय दृश्यमा रोए पनि। कलाकारहरूको अभिनय, कथा प्रस्तुति र समन्वय सबै पक्ष उत्कृष्ट लाग्यो,” उनले भनिन् । समग्रमा ‘लाहुरी भैँसी’ ले आफूलाई प्रेरणादायी र स्मरणीय अनुभव दिएको उनको प्रतिक्रिया छ ।

निर्देशक अनुप न्यौपानेको परिकल्पना र संयोग गुरागाईंको नाट्य रूपान्तरणले कथालाई समकालीन संवेदनासँग जोड्ने प्रयास गरेको छ । मञ्चमा कलाकारहरूको सामूहिक ऊर्जा, पात्रअनुसारको अभिनय र दृश्य संयोजनले कथाको भावलाई प्रभावकारी रूपमा दर्शकसम्म पुर्‍याउन सफल देखिन्छ ।

विशेषगरी नाटकमा प्रयोग गरिएको प्रत्यक्ष (लाइभ) सङ्गीत, पृष्ठभूमि ध्वनि र संगीत संयोजनले प्रस्तुतिलाई अझ उचाइ दिएको अनुभूति हुन्छ । कथाको भावनात्मक गहिराइ, पात्रहरूको मानसिक द्वन्द्व र ग्रामीण परिवेशको वातावरण सिर्जना गर्न लाइभ म्युजिक अत्यन्तै प्रभावकारी बनेको देखिन्छ । कतिपय दृश्यमा संवादभन्दा पनि संगीत र ध्वनिको संयोजनले दर्शकलाई कथाभित्र अझ गहिरोसँग प्रवेश गराएको महसुस हुन्छ ।

नबिन ख्युङ्वा तामाङ, सुष्मिता कार्की, भास्कर बुढा, प्रेमदेव विश्वकर्मा, मोहन भण्डारी, सन्देश पाण्डेलगायत कलाकारहरूको अभिनयले कथा बोकेको सामाजिक यथार्थलाई जीवन्त बनाएको छ । मञ्च निर्माण, प्रकाश , भेसभूषा तथा समग्र प्राविधिक पक्षले पनि प्रस्तुतीलाई थप सशक्त बनाएको छ ।

एकातिर पुरानो कथाको स्मृति ताजा गराउँदै र अर्कोतिर नयाँ पुस्तालाई इतिहासको एउटा सामाजिक यथार्थसँग परिचित गराउँदै ‘लाहुरी भैंसी’ ले नेपाली समाजको वर्गीय संरचना र त्यसबाट उत्पन्न पीडालाई कलात्मक रूपमा प्रस्तुत गरेको छ । समाजको ऐना बन्न खोज्ने यो नाटकले दर्शकलाई मनोरञ्जन मात्र होइन, सोच्न र प्रश्न गर्न पनि बाध्य बनाउँछ ।

नाटक असार ७ गतेसम्म मण्डला थिएटरमा मञ्चन हुने जनाइएको छ। नाटक हरेक दिन साँझ ५:३० बजे प्रस्तुत गरिनेछ भने शनिबार दिउँसो १:३० बजे अतिरिक्त शो समेत रहनेछ। नाटक हेर्न इच्छुक दर्शकहरूले मण्डला थिएटरको बुकिङ पेजमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

तस्वीरहरु :-

प्रकाशित मिति: आइतबार, जेठ २४, २०८३  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update