Harsamaya

काठमाडौं - चलचित्र ‘चिरञ्जीवी भवः’को नयाँ गीत ‘के त माया जाले रुमाल’ सार्वजनिक भएको छ । निर्माण पक्षले बिहीबार ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरेको हो ।

लोकलयमा आधारित डान्सिङ नम्बरका रूपमा तयार पारिएको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर रहेको छ । गीतका शब्द दीपकप्रसाद आचार्यले लेखेका हुन् भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ बाबुल गिरीले गरेका छन् ।

प्रेमिल भाव र रमाइलो सवाल–जवाफले भरिएको गीतमा युवक र युवतीबीचको आकर्षण तथा प्रेमिल संवादलाई प्रस्तुत गरिएको छ । मौलिक नेपाली शब्द, टिपिकल लोकलय र आकर्षक हुकलाइनले गीतलाई थप रोचक बनाएको छ ।

गीतको भिडियोमा आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी विवाहको रमाइलो माहोलमा देखिएका छन् । पारिवारिक जमघट, नाचगान र उत्सवमय दृश्यले भिडियोमा छुट्टै रौनक थपेको छ । चलचित्रका अधिकांश कलाकारलाई समेटिएको भिडियोले पात्रहरूबीचको पारिवारिक सम्बन्ध र अन्तरसम्बन्धसमेत उजागर गरेको छ । भिडियोको अन्तिम दृश्यले भने दर्शकमाझ थप कौतूहल सिर्जना गर्ने प्रयास गरेको छ ।

गीतको अर्को बलियो पक्ष हो, गम्भीर विष्टको आकर्षक कोरियोग्राफी। नेपाली गीत तथा चलचित्रमा आफ्नो नृत्य निर्देशनमार्फत छुट्टै छाप छोड्दै आएका विष्टले यस गीतमा पनि सधैँझैँ आफ्नो सिर्जनात्मक क्षमता र उत्कृष्ट प्रस्तुतिको झलक दिएका छन् । कलाकारको ऊर्जा, गीतको लय र दृश्यको तालमेललाई सुन्दर ढंगले संयोजन गर्दै उनले भिडियोमा थप आकर्षण, रौनक र मनोरञ्जन भरेका छन् । उनको कोरियोग्राफीले गीतलाई केवल श्रवणयोग्य मात्र नभई दृश्यात्मक रूपमा पनि दमदार बनाएको छ ।

दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको ‘चिरञ्जीवी भवः’ सामाजिक कथावस्तुमा आधारित चलचित्र हो । चलचित्रले दुई पुस्ताबीचको वैचारिक भिन्नता, पारिवारिक सम्बन्ध र पुस्तान्तरणको कथालाई मुख्य विषय बनाएको छ ।

चलचित्रमा हरिवंश आचार्य, करिश्मा मानन्धर, आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझी, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिश निरौलालगायत कलाकारको अभिनय रहेको छ । हरिवंश आचार्य चलचित्रमा ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् ।

Chiranjibi-Bhawa-1794019260.jpg
चलचित्र ‘चिरञ्जीवी भवः’को नयाँ गीत ‘के त माया जाले रुमाल’ सार्वजनिक ।

कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा निर्माण भएको चलचित्रको पटकथा लेखनमा सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माता छन् ।

गत वर्ष ‘परान’मार्फत बक्स अफिसमा सफलता हासिल गरेका निर्देशक आचार्यको यो दोस्रो चलचित्र भएकाले पनि ‘चिरञ्जीवी भवः’लाई दर्शकले प्रतीक्षाका साथ हेरिरहेका छन् ।

जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बनेको चलचित्र माघ १ गते (जनवरी १५) देखि देशभर प्रदर्शनमा आउनेछ । चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्दैछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update