काठमाडौं - नेपाल स्वास्थ्यकर्मी संघले सरकारले स्वास्थ्यकर्मीहरूमाथि गरेको व्यवहारप्रति आपत्ति जनाएको छ ।
अध्यक्ष रामजी घिमिरे र महासचिव मीन राज पन्थीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले मे १ (अन्तर्राष्ट्रिय श्रमिक दिवस) का दिन सरकारी अस्पतालहरूमा ओपीडि सेवा सञ्चालन गर्न दिएइको निर्देशनप्रति गम्भीर आपत्ति जनाएको हो ।
‘सार्वजनिक बिदाको दिनमा आकस्मिक सेवा सञ्चालनमै रहेको अवस्थामा अन्य कामदार र कर्मचारीजस्तै स्वास्थ्यकर्मीहरूपनि श्रमिक नै भएको र अस्पतालहरूले सार्वजनिक बिदाको व्यवस्थापन गरी सकेपछि ढिलो गरी मन्त्रालयलये पूर्व तयारीविना हचुवाको भरमा अस्पतालहरूलाई पत्र लेखी सार्वजनिक गरेको अवस्थाप्रति संघले खेद व्यक्त गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
स्वास्थ्य मन्त्रालयले आज मे दिवस र बुद्ध जयन्तीको दिनमा पनि अस्पतालमा ओपीडि सेवा सञ्चालन बिहीबार निर्देशन दिएको थियो ।
संघले भविष्यमा यस्तो गैर जिम्मेवारपूर्ण निर्देशन दिइ स्वास्थ्यकर्मीहरूलाई थप अपामनित र मनोबल घटाउने कार्य नगर्न अनुरोध गरेको छ ।
साथै, स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि निर्णय गर्दा पर्याप्त तयारी, स्रोतसाधनको सुनिश्चितता र सरोकारवालासँग समन्वय गर्नुपर्नेमा जोड दिइएको छ।
संघले स्वास्थ्यकर्मीहरूको पेशागत हकहितको संरक्षण गर्न, उचित कार्यपरिस्थिति सुनिश्चित गर्न तथा स्वास्थ्य सेवालाई कानुनी रूपमा विशिष्ट सेवाका रूपमा व्यवस्थित गर्न सरकारसँग माग गरेको छ।


