काठमाडौं - नेपाली काँग्रेसको भातृ सङ्गठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको अनामनगरमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य अजय बाबु शिवाकोटी, हिमालय कर्माचार्य र नगेन्द्र कुमाललाई बधाई दिँदै सम्मान गरेको हो । सो अवसरमा बोल्दै केन्द्रीय सदस्य अजय बाबु शिवाकोटीले नेपाली काँग्रेसभित्र विशेष महाधिवेशनका माध्यमबाट गरिएको विद्रोहको चेतले अन्य दलहरूलाई पनि पाठ सिकाएको दाबी गरे ।
उनले लोकतान्त्रिक दलभित्र खुम्चिएर र पिल्सिएर बस्नुपर्दा देशभरका केन्द्रीय प्रतिनिधि र कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत नेपालको राजनीतिक इतिहासमै प्रभावशाली एवं नौलो सन्देश प्रवाह गरेको बताए । उनले भने,‘यो वैधानिक विद्रोह हो, काँग्रेसलाई रूपान्तरित र पुस्तान्तरण गर्ने प्रभावशाली आधार हो । अब देशभर नेपाली काँग्रेसभित्र ठूलो रूपान्तरण आउने निश्चित छ ।’ पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले विशेष महाधिवेशनको महत्त्व र पावर गाउँ गाउँसम्म र अन्य दलहरूमा पनि सञ्चारित गर्नुपर्ने औँल्याए ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधव चौलागाईंले विशेष महाधिवेशनको एजेन्डा सुरुमा आफूहरूले उठाएको दाबी गर्दै पार्टीमा अब समावेशीकरणको मुद्दा सशक्त बनाएर अघि बढ्ने बताए । त्यस्तै काँग्रेस नेता भेषराज आचार्यले इलाम जिल्लामा काँग्रेसभित्र रूपान्तरित अभियान लिएर जानलाई विशेष महाधिवेशनले सहज बनाइदिएको बताए ।

